२५ फाल्गुन।बारा— ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सञ्जालको अध्यक्ष बबिता जयसवालको नेतृत्वमा बाराको कलैयामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय, कलैया बाराबाट सुरु भएको प्रभातफेरी भरत चौकमा आएर कोणसभामा परिणत भएको थियो ।प्रभातफेरी कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रममा बारा जिल्लाका प्रहरी प्रमुख सन्तोष तामाङले समेत सहभागिता जनाएका थिए।

प्रभातफेरी स्थानीय बजार हुँदै विभिन्न मार्गमा परिक्रमा गरी महिला अधिकार र समानताको नारासहित सम्पन्न भएको थियो। सहभागीहरूले लैङ्गिक समानता, महिला हिंसाविरुद्धको संघर्ष र आर्थिक सशक्तिकरणका मागसहित प्लेकार्ड तथा ब्यानरहरू बोकेका थिए। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले महिलाहरूको सशक्तिकरणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “महिलाहरूलाई शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा अवसर उपलब्ध गराएर मात्र समाजको समग्र विकास सम्भव छ। सबै क्षेत्रबाट सहयोग आवश्यक छ।”

महिला सञ्जालकी अध्यक्ष बबिता जयसवालले महिलाहरूले अझै पनि विभिन्न क्षेत्रमा भोगिरहेको असमानता र हिंसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “नारी दिवसको मर्म भनेको महिलाहरूलाई समान अधिकार र अवसर प्रदान गर्नु हो। यसका लागि सबैको सहयोग र ऐक्यबद्धता आवश्यक छ।” बारा जिल्लाका प्रहरी प्रमुख सन्तोष तामाङले भने, “महिलाहरूको सुरक्षाका लागि प्रहरी सधैं तत्पर छ। महिलाविरुद्धको हिंसालाई नियन्त्रण गर्न हामीले थप प्रयासहरू गरिरहेका छौं। महिलाहरूले कुनै डर बिना आफ्ना समस्या प्रहरीमा राख्न सक्ने वातावरण बनाउन आवश्यक छ।” उनले महिला हिंसाविरुद्धको अभियानलाई बलियो बनाउन सामूहिक प्रयासको महत्व पनि औंल्याए।

सबिधानसभा सदस्य विनमाया धामी र पूर्वमन्त्री कलावती पासवानले पनि आफ्ना धारणा राख्दै महिलाहरूको शिक्षामा पहुँच र आत्मनिर्भरता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा नेपाल भारत मैत्री संघका हिरालाल साह,महिला अधिकार्कर्मी निभा सिंह ,मन्जु सुवेदी लगाएत विभिन्न संघ-संस्था, स्थानीय निकायका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।