२१ चैत्र ,कलैयाः नेपाल पत्रकार महासंघ बारा शाखाका कार्यवाहक अध्यक्ष पनालाल दासले पत्रकार आचारसंहिता पत्रकारितालाई सौन्दर्य प्रदान गर्ने फेयर एण्ड लभली जस्तै भएको बताउनुभएको छ । मधेश प्रदेश मिडिया काउन्सिलले बारा जिल्लामा आयोजना गरेको ‘पत्रकार आचारसंहिता पालना’ सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले निष्पक्ष, तथ्यपरक र उत्तरदायी पत्रकारिताका लागि आचारसंहिताको पालना अनिवार्य भएको उल्लेख गर्नुभयो।
कार्यवाहक अध्यक्ष दासका अनुसार, आचारसंहिताले पत्रकारितालाई शुद्धता, सत्यता र जिम्मेवारी प्रदान गर्छ। उहाँले भन्नुभयो, “पत्रकार आचारसंहिता भनेको पत्रकारिताको सौन्दर्य प्रसाधन जस्तै हो, जसले पत्रकारितामा चमक, निखार र विश्वसनीयता थप्छ।“उहाँले मिडिया काउन्सिल मधेश प्रदेशलाई धन्यवाद दिँदै बाराका पत्रकारहरूलाई आचारसंहिता पालनामा प्रतिबद्ध रहन आग्रह गर्नुभयो।कार्यक्रममा पत्रकार आचारसंहिता उल्लङ्घनको गम्भीर असरबारे चर्चा गर्दै, गलत सूचना तथा भ्रामक समाचारले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिइयो। पत्रकारिताको मूलभूत सिद्धान्तअनुसार काम गर्नुपर्ने दासको जोड थियो।