अखिलेश यादव ।२१ चैत्र सिमरा — प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को अनुगमन तथा निरीक्षण गरेको छ। समितिका सदस्य एवं बारा क्षेत्र नं. ४ का सांसद किसान कुमार श्रेष्ठको नेतृत्वमा भएको अनुगमन टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहामा रहेको सेजमा हालै स्थापना भएका उद्योगहरूको अवस्था र तिनले भोगिरहेको समस्याबारे जानकारी लिएको छ।

समितिका सदस्य सांसद गणेश पराजुली, गीता बस्नेत ,सेजका प्रमुख ,जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेल लगायतको सहभागितामा भएको अनुगमनमा उद्योगहरूले अघोषित लोडसेडिङ्गका कारण उत्पादनमा समस्या भइरहेको बताएका छन्। विद्युत आपूर्तिको अनिश्चितताका कारण उद्योग सञ्चालनमा कठिनाइ भईरहेको उद्योग प्रतिनिधिहरूले बताएका छन्।अनुगमनका क्रममा नन्दन घ्यू उद्योग लगायतका केही उद्योगहरूले फोहोर पानी खोलामा फाल्ने गरेको पाइएको छ।

नगरप्रमुख पौडेलले उद्योगलाई १ महिनाभित्र यो कार्य रोक्न निर्देशन दिइएको बताए।समितिका सदस्य सांसद गणेश पराजुलीले भने, “औद्योगिक विकास आवश्यक छ, तर उद्योगहरूले वातावरणीय मापदण्ड पालना नगर्दा जनस्वास्थ्यमा असर पुग्छ। उद्योगहरूले तत्काल सुधार ल्याउनुपर्छ।“त्यस्तै, सांसद गीता बस्नेतले पनि उद्योगहरूले स्थानीय जनताको स्वास्थ्य र वातावरणलाई ध्यान दिनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “यदि उद्योगहरूले नियम उल्लंघन गरिरहे, सरकारले कडा कदम चाल्नुपर्छ।“सांसद किसान कुमार श्रेष्ठले उद्योगी, स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक नीति तथा निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।

अनुगमन टोलीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले औपचारिक स्वागत समेत गरेको थियो। सोही अवसरमा नगरपालिकाले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी उद्योगहरूका वर्तमान अवस्था, चुनौती तथा समाधानका उपायबारे छलफल गरेको थियो।नगरप्रमुख राजन पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाभित्र रहेका उद्योगहरूको विवरण प्रस्तुत गर्दै केही उद्योगहरूले स्थानीय खोलामा सिधै प्रदूषित पानी फाल्ने गरेको गुनासो आएको बताए। यस विषयमा स्थानिय बासिन्दाहरू पटक–पटक उद्योग परिसरमै पुगेर विरोध गरिरहेको जानकारी पनि गराइएको थियो।
