२५,चैत्र।सिमरा : हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको ‘ए’ डिभीजन भिडन्तमा फ्रेण्डस क्लबलाई १–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो ।सोमबारको खेलसंगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनल समिकरण पुरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि अब बुधबार आयोजक नवजनजागृति युवा क्लबसंगको भेट पक्का गरेको छ । मङ्गलबार साँझ हुने पहिलो सेमीफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी विएफसी भरतपुरसंग प्रतिष्पर्धा गर्नेछ ।

हिमालयन शेर्पाको जितमा खेलको ९ औं मिनटमा भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोलनै निर्णायक बन्यो । विनु आलेमगरको पासमा रोबर्टको पहिलो प्रहार रोक्ने क्रममा लडेका फ्रेण्ड्सका गोलरक्षक विकेश कुथु सम्हालिन नपाउँदै रिवाउण्ड बलमा पुनः रोवर्टले गोल गरेका थिए । उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रेण्ड्स फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीयो । खेलको छैटौं मिनटमा फ्रेण्ड्सका विशाल ठकुरीले वन भर्सेस वनको स्थिती गुमाए । लक्ष्मण रुचालको पासमा विशालले अघि बढाएको बल डिबक्स भित्रैबाट प्रहार गरेका थिए । उनको प्रहार फितलो बन्दा हिमालयन शेर्पाका गोलरक्षक विवश चौधरीले रोक्ने मौका पाए ।

खेलको ४४ औं मिनटमा शुसील लामाको अर्को प्रहार विफल भयो । डिबक्स भित्रबाट शुसीलले हानेको सशक्त प्रहार हिमालयन शेर्पाका गोलरक्षकले बचाउ गरे । हिमालयन शेर्पाका मानबहादुर रानाको मिसपासको फाइदा उठाउँदै शुसीलले आकर्षक अवसर सिर्जना गरेका थिए । खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । उनलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डे र ग्रीन इनर्जीका सञ्चालक स्वीकार ढकालले पुरस्कार प्रदान गरेका थिए । मङ्गलबार साँझ हुने पहिलो सेमीफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी विएफसी भरतपुरसंग प्रतिष्पर्धा गर्नेछ ।