पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति परियोजनाः वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई सम्पन्न

पछिल्लाे समाचार

०७ बैशाख । अखिलेश यादव ।सिमरा ः पथलैया–हेटौंडा–नारायणघाट सडक स्तरोन्नति आयोजना अन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमाथि केन्द्रित सार्वजनिक सुनुवाई कार्यक्रम बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।सुनुवाई कार्यक्रममा आयोजना क्षेत्रका सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, वातावरणविद्, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

परियोजनाका प्राविधिक प्रतिनिधिहरूले प्रतिवेदनको मुख्य बुँदाहरू प्रस्तुत गर्दै सडक स्तरोन्नतिसँग सम्बन्धित वातावरणीय, सामाजिक तथा आर्थिक असरबारे जानकारी दिएका थिए।करिब १०० किलोमिटरको पथलैया–हेटौंडा–नारायणघाट सडकखण्डमा पर्ने पुलहरू सहितको स्तरोन्नतिको योजना एसियाली विकास बैंकको सहयोगमा कार्यान्वयन गरिँदैछ। उक्त खण्ड पर्सा, बारा, मकवानपुर र चितवन जिल्लाका शहरी, ग्रामीण तथा जैविक संवेदनशील क्षेत्रहरू हुँदै गएको छ।सुनुवाइको क्रममा सहभागीहरूले सडक विस्तारसँगै सम्भावित धुलो, ध्वनि प्रदूषण, जैविक विविधतामा पर्ने असर तथा वन्यजन्तु आवगमनमा देखिन सक्ने अवरोधबारे चिन्ता व्यक्त गरे।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले सडक स्तरोन्नतिको आवश्यकता अपरिहार्य भए पनि वातावरणीय सन्तुलन कायम राख्न विशेष ध्यान दिनु पर्ने धारणा राखे। उनले आयोजनाका कारण वन्यजन्तु, बस्ती र जनस्वास्थ्यमा पर्ने सम्भावित असरलाई न्यूनीकरण गर्न वैज्ञानिक र व्यवहारिक उपाय तत्काल अपनाइनु पर्ने सुझाव दिए। वातावरणविद् सन्तोष काफ्लेले आयोजना संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र र जैविक मार्ग हुँदै जाने भएकाले सडक निर्माणका क्रममा वन्यजन्तु आवतजावतलाई नढाक्ने संरचना बनाउने, धुलो तथा ध्वनि प्रदूषण न्यूनीकरणका लागि प्रविधियुक्त उपाय अपनाउने, र स्थानीय समुदायलाई सचेत गराउने कार्य प्राथमिकतामा राख्नुपर्ने बताए।

परियोजनाले उक्त सडकखण्डमा चार लेनको मापदण्डमा सडक सुधार, सेवा सडक, आकाशे पुल, अन्डरपास, वन्यजन्तु क्रसिङ, साइकल लेन, र फुटपाथ निर्माण गर्ने योजना अघि सारेको छ। कुल ६८८ निजी तथा १८० सामुदायिक संरचनाहरू आयोजना क्षेत्रभित्र पर्ने बताइएको छ।सार्वजनिक सुनुवाइमार्फत प्रतिवेदनमा उठेका विषयहरूबारे गम्भीर छलफल गरिनुका साथै स्थानीयको आवाज सुन्ने र तिनीहरूका सुझाब समावेश गर्ने कार्यले परियोजना पारदर्शिता र जनसहभागिताको सशक्त अभ्यास भएको आयोजक पक्षले जनाएको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय