०७ बैशाख,कलैया ः शान्ति मिडिया प्रालि द्वारा संचालित बारा जिल्लाको पहिलो रेडियो स्टेशन संस्कार एफएमले आफ्नो १७ औं वार्षिकोत्सव सामाजिक कार्यका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा आईतबार कलैया स्थित अमृता अनाथ आश्रममा खाद्यान्न सामग्री वितरण गरी एफएमले आफ्नो सामाजिक उत्तरदायित्वप्रति समर्पण व्यक्त गरेको हो।कार्यक्रमका दौरान संस्कार एफएमका प्रबन्धक निर्देशक अखिलेश कुमार यादवले आश्रमकी संचालिका फुलमती बस्नेतलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए।

प्रदान गरिएको सामग्रीमा ६० केजी चामल, ५ लिटर तेल, ५ किलो नून, २० किलो आलु र प्याज समावेश रहेको लेखा शाखा प्रमुख विकास कुशवाहाले जानकारी दिए।यस अवसरमा प्रबन्धक निर्देशक यादवले भने, “संस्कार एफएमले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको छ। वार्षिकोत्सवलाई केवल उत्सवको रुपमा नभइ समुदायप्रति योगदान दिने अवसरका रुपमा लिनुपर्छ भन्ने हाम्रो सोच हो।”कार्यक्रमप्रति आभार व्यक्त गर्दै अनाथ आश्रमकी संचालिका बस्नेतले भनिन्, “संस्कार एफएमले आश्रममा गरिरहेको योगदान सराहनीय छ।
यस्ता सहयोगहरूले आश्रमका बालबालिकालाई राहत दिनुका साथै समाजमा सकारात्मक सन्देश दिन्छ।”संस्कार एफएमले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ। यस वर्षको पहलले समाजमा सकारात्मक ऊर्जा भर्ने विश्वास गरिएको छ।उक्त खाद्यान्न सामाग्री वितरण कार्यक्रममा संस्कार एफएमको बजार व्यवस्थापक महेन्द्र सहनी,प्राबिधिक शिवम कुशवाहा लगाएत अनाथ आश्रमको बालबालिकाको उपस्थिति रहेको थियो ।