करैयामाई गाउँपालिकामा सामूहिक विवाह सम्पन्न, दलित र गरिब समुदायका लागि राहतको ऐतिहासिक पहल

पछिल्लाे समाचार

अखिलेश यादव ,११ बैशाख,बारा ः बाराको करैयामाई गाउँपालिकाले असहाय, गरिब र दलित समुदायका बेहुलीहरूलाई लक्षित गरी आयोजना गरेको सामूहिक विवाह कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिकाको १५ औं गाउँसभाबाट स्वीकृत र २०८१ माघ १५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार सञ्चालनमा ल्याइएको सामूहिक विवाह कार्यक्रम वडा नं. २ स्थित राजदेवी माता मन्दिरको प्रांगणमा सम्पन्न गरिएको हो।सामूहिक विवाह बिहिवार बिहान १० बजेदेखि सुरु भई वैदिक विधि र इस्लाम धर्म अनुसार विधिपूर्वक सम्पन्न गरिएको हो।

यसपटकको कार्यक्रममा दुई जना बेहुली सहभागी भएको थियो ।करैयामाई गाउँपालिका वडा नं. १, हरिया निवासी सोकिल राय भाटकी २० वर्षीया छोरी आसमिं खातुन र वडा नं. ५, ढोरिया निवासी सुखल हजराकी २४ वर्षीया छोरी कुसुम कुमारी पासवानको सामूहिक विवाह गराइएको हो। यसअघि चार जनाले आवेदन दिएका थिए, तर वडा नं. ४ का ग्यासुदी अन्सारीकी छोरी हसबुन खातुन र मोहरम मियाँकी छोरी नजरुण खातुनका अभिभावकले अन्तिम समयमा सहभागी नहुने जानकारी गराएका थिए।विवाहका लागि आवश्यक सम्पूर्ण सामग्री—बेहुला–बेहुलीको पोशाक, गहना, फर्निचर, खानपान, यातायात लगायत सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले नै गरेको थियो। सहभागी दुवै पक्षबाट अधिकतम २०÷ २० जना मात्र उपस्थित हुन पाउने व्यवस्था गरिएको थियो।

गाउँपालिकाको प्रशासन शाखा प्रमुख घनश्याम चौधरीले कार्यक्रम शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।गाउँपालिकाले सामूहिक विवाह कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र महतोले बेहुलीहरूका लागि गहना, लत्ता–कपडा, खाट, दराजलगायत गृहस्थीका सम्पूर्ण सामग्रीहरू गाउँपालिकाले उपलब्ध गराएको जानकारी दिनुभयो। उहाँले आर्थिक अभावका कारण रोकिएका विवाहलाई सहज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। गाउँपालिका अध्यक्ष शम्भु यादवले सामूहिक विवाह कार्यक्रमलाई सामाजिक समावेशिता र धार्मिक सहिष्णुताको उदाहरणीय प्रयासको रूपमा उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूलाई सम्मानजनक रूपमा विवाह गरिदिन पाउनु हाम्रो खुसीको विषय हो। आगामी वर्षहरूमा यस कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने योजना रहेको छ ।


गाउँपालिका उपाध्यक्ष सुनैना चौधरीले पनि सामूहिक विवाह कार्यक्रमलाई महिला, बालिका र दलित समुदायप्रति संवेदनशील स्थानीय सरकारको प्रतिबद्धताको रुपमा लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यो कार्यक्रमले महिलाको आत्मसम्मान जोगाउँछ, सामाजिक दबाब हटाउँछ र गरिब परिवारलाई बाँच्न मद्दत गर्छ। यस्तो सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ।”सामूहिक विवाहमा सहभागी बेहुलीका अभिभावकहरू अत्यन्त हर्षित देखिन्थे। आसमिं खातुनका बुबा सोकिल राय भाटले पालिकाको सहयोगबापत कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “छोरीको विवाह हाम्रो हैसियतले सम्भव थिएन। पालिकाले जुन सहयोग ग¥यो, त्यो सपना पूरा भएजस्तै लागिरहेको छ।” त्यस्तै, कुसुम कुमारी पासवानकी आमा मनकला देवी पासवानले आँखामा आँसु झार्दै भन्नुभयो, “हाम्रो छोरी बेहुली बनेर इज्जतका साथ जान पाइन्, यो क्षण जीवनभर सम्झनेछु।”यो कार्यक्रमसहित करैयामाई गाउँपालिका बारा जिल्लाको पहिलो स्थानीय तह बनेको छ जसले आधिकारिक रूपमा सामूहिक विवाह आयोजना गरी सम्पूर्ण खर्च व्यहोरेको हो। गाउँपालिकाको यस सामाजिक उत्तरदायित्वयुक्त पहलले हाल देशैभरबाट सकारात्मक प्रतिक्रिया र प्रशंसा प्राप्त गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको सभा अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य रामबाबु कुमार यादव रहनु भएको थियो।देशैभरिमा पहिलो चोटि करैयामाई गाउँपालिकाले गरेको यो कार्य एकदमै सराहनीय रहेको प्रमुख अतिथि यादवले बताए ।एउटै ठाउँमा हिन्दु मुस्लिम समुदायका मानिसहरूलाई जम्मा गरेर सामुहिक विवाह सम्पन्न गरि हिन्दुमुस्लिम बिचको आत्मीयता र भाइचारालाई असल पाठ सिकाउन गरेको प्रयासलाई सबैले आफ्नो जिवनमा उतार्न आग्रह समेत वहाँले गरे।यो कार्यक्रम संचालन गरेर यस्ता कार्यको लागि गर्नुपर्ने धेरै व्यवस्थापनका बारेमा जान्न पाइयो।हाम्रो यो पहिल कार्यलाई स्थानीय जनताहरु रुचाइ दिनु भएकोमा वडा नम्बर –३का वडा अध्यक्ष पशुराम यादवले सहभागी सबैलाई धन्यवाद दिए।

साथै आउने दिनमा यो कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढाउदै लैजाने वहाँले बताए ।उक्त कार्यक्रममा करैयामाई गाउँपालिकाको सम्पुर्ण जनप्रतिनिधि ,कर्मचारी ,सुरक्षाकर्मी,संचारकर्मी लगायत स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेकोे थियोे ।कार्यक्रमको संचालन कार्यपालिका सदस्य सुरेन्द्र साहले गरेका थिए भने शुभकामना मन्तव्य गाउँपालिका उपाध्यक्ष सुनैना कुमारी चौधरीको रहेको थियो । करैयामाई गाउँपालिकाले सामुहिक विवाहमा सहभागी हुन् सार्वजनिक सुचना नै जारि गरेर सामूहिक विवाहमा सहभागी हुनको लागि आग्रह गरेको थियो । करैयामाई गाउँपालिकाले बारा जिल्लामै अरु पालिकाको तुलनामा उत्कृष्ट कार्य गर्दै आईरहेको स्थानीयहरुले बताएको छ । करैयामाई गाउँपालिकाले बिशेष गरेर आफ्ना पालिका भित्र रहेका गरिब,असहाय परिवारलाई लक्षीत गरेर बिभिन्न किसिमको कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय