जनहित उपभोक्ता समितिको १८ औं वार्षिक साधारण सभा सम्पन्न

पछिल्लाे समाचार

१३ बैशाख,सिमरा : पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्र भित्र कार्यरत जनहित उपभोक्ता समितिको १८ औं वार्षिक साधारण सभा शनिबार सिमरास्थित आफ्नै कार्यालय प्राङ्गणमा सम्पन्न भएको छ। समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो। साधारण सभाका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले जनहित उपभोक्ता समितिले प्राकृतिक स्रोतको संरक्षण तथा स्थानीय समुदायको हितमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउनुभयो।

उहाँले भन्नुभयो, “स्थानीयस्तरमै वन संरक्षण र सामाजिक विकासमा योगदान दिनु आजको आवश्यकता हो। समितिले सञ्चालन गर्दै आएका कार्यक्रमहरू प्रशंसनीय छन्। आगामी दिनमा अझ प्रभावकारी कार्य गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ।” त्यस्तै, पर्सा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख रामचन्द्र खतिवडाले जनहित उपभोक्ता समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “निकुञ्ज संरक्षण र स्थानीय जनजीविकामा सन्तुलन कायम गर्न समितिले खेलेको भूमिका उल्लेखनीय छ। आगामी दिनमा अझ सुदृढ समन्वयका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ।”

कार्यक्रममा समितिको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी वर्षका योजना प्रस्तुत गरिएको थियो। सभामा उपभोक्ता समूहका प्रतिनिधि, स्थानीय अगुवा, सरोकारवाला निकायका प्रतिनिधिहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। जनहित उपभोक्ता समितिले वन संरक्षण, प्राकृतिक स्रोत व्यवस्थापन र स्थानीय समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय