कलैयाका १२ वटा निजी अस्पतालमा मुख्यमन्त्रीको अनुगमन, तत्काल अस्पताल बन्द गर्न निर्देशन

पछिल्लाे समाचार

अखिलेश यादव ।१३ बैशाख ।कलैया ः मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बारा जिल्लाको कलैयास्थित निजी अस्पतालहरूको शनिबार अनुगमन गर्नुभएको छ ।अनुगमनको क्रममा मापदण्डविपरीत सञ्चालन भइरहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको छ । शनिबार बिहानैदेखि सुरु भएको अनुगमनमा मुख्यमन्त्री सिंहले कलैयाका १२ वटा निजी अस्पताल पोलियो क्लिनिक र डेन्टल क्लिनिकको सेवा, पूर्वाधार र व्यवस्थापनको अवस्था निरीक्षण गर्नुभएको थियो। अनुगमनमा योगसिला अस्पताल, समाज प्रसूति तथा जेनरल अस्पताल, रारा अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ अस्पताल प्रालि, कलैया सबमेट्रो सिटी अस्पताल, कलैया अस्पताल प्रालि, जीवन ज्योती डेन्टल क्लिनिक, श्रीराम हेल्थ क्लिनिक ,आशिर्वाद हस्पिटलसहित १२ वटा निजी अस्पतालको अनुगमन गरिएको हो।

मुख्यमन्त्री सिंहले अनुगमनपछि जानकारी दिँदै भन्नुभयो, “अस्पतालहरूले मापदण्डविपरीत शल्यक्रिया (सर्जरी सेवा), आकस्मिक कक्ष तथा नवजात शिशुहरूको आकस्मिक सेवा (एनआईसियु ) सञ्चालन गरिरहेका छन्, जुन गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने खालको हो।“ सञ्चालन अनुमतिभन्दा धेरै शय्या थपेर सेवा प्रदान गर्ने, न्यूनतम पूर्वाधार तथा जनशक्ति बिना नै आकस्मिक र शल्यक्रिया सेवा सञ्चालन गरिनु स्वास्थ्य सुरक्षामाथि सीधै आक्रमण भएको भन्दै मुख्यमन्त्री सिंहले कडा असन्तुष्टि व्यक्त गर्नुभयो। मधेश प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पब्लिक हेल्थ अफिसर एवं अस्पताल अनुगमन समिति सदस्य सचिव सन्तोष कुमार ठाकुरका अनुसार, सबै अनुगमन गरिएका अस्पतालहरू मापदण्ड उल्लङ्घनमा संलग्न पाइएको छ। उनले भने, “१५ शय्याको अनुमति लिएर २५ शय्याको सेवा सञ्चालन गर्नु, पूर्वाधार र दक्ष जनशक्ति बिना आकस्मिक सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो।“ मुख्यमन्त्री सिंहले तत्काल सबै मापदण्डविपरीतका सेवा बन्द गर्न निर्देशन दिनुभएको छ।

उहाँले स्वास्थ्य सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने अनुगमनको क्रममा बताउनुभयो। गत माघ २५ गतेदेखि प्रदेशभरि निजी अस्पतालहरूको अवस्था बुझ्न सुरु गरिएको अभियान अन्तर्गत अहिलेसम्म १९२ वटा निजी अस्पताल अनुगमन भइसकेको छ। तीमध्ये १३४ वटाले मापदण्ड उल्लङ्घन गरेको पाइएको अस्पताल अनुगमन समितिका सदस्य सचिव सन्तोष कुमार ठाकुरले बताउनुभयो।हाल सम्म बारा जिल्लाको निजगढ र कलैयामा २१ वटा निजि अस्पतालको अनुगमन गरेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

कलैयामा भएको अनुगमनलाई स्थानिय बासिन्दाले व्यापक समर्थन र स्वागत गरेका छन्। स्थानीयहरूका अनुसार मुख्यमन्त्री सिंहको सक्रिय पहलले निजी स्वास्थ्य क्षेत्रलाई जिम्मेवार बनाउन मद्दत गर्नेछ। उनीहरूले यस्ता अनुगमनलाई निरन्तरता दिन माग गरेका छन्।मुख्यमन्त्री सिंहको सचिवालयका अनुसार, प्रदेशभर स्वास्थ्य सेवामा सुधार ल्याउन र नागरिकलाई गुणस्तरीय सेवा दिलाउन आगामी दिनमा अझ कडा अनुगमन र आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय