१३ बैशाख, कलैया । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनको रिपोर्टिङ्गका क्रममा साझेदारी राष्ट्रिय दैनिकका संवाददाता सन्दिप प्रसाद यादवलाई गोली हान्ने धम्की दिइएको छ। शनिबार कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडमा रहेको योगशिला हस्पिटल प्रालिमा रिपोर्टिङ गर्न गएका पत्रकार यादवलाई सोही अस्पतालका सञ्चालक पवन गुप्ता र डाक्टर सुमन प्रसाद साहले दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएका हुन्।
मुख्यमन्त्री सिंहको अनुगमनकै बीच सडकबाट अस्पतालको तस्वीर खिचिरहेका पत्रकार यादवलाई सञ्चालक गुप्ता र डाक्टर साहले रोक्न खोजे। उनीहरुले पत्रकार यादवको मोबाइल कब्जामा लिँदै खिचिएको तस्वीर डिलिट गराएका थिए। त्यति मात्र नभई प्रेस परिचयपत्र खोसेर ‘तँ पत्रकार होस्? तँलाई पत्रकारिता थाहा छैन’ भन्दै सार्वजनिक स्थानमै अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेपछि गुप्ताले ‘तँलाई गोली हानेर मारिदिन्छु’ भन्दै धम्की दिएका थिए।सो क्रममा मोटरसाइकलमा बसेका पत्रकार यादवलाई अस्पतालको प्राङ्गणमै घेराउ गर्दै स्थानीय सर्वसाधारणकै अगाडि अभद्र व्यवहार गरिएको पीडित यादवले बताए।
घटनापछि सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अस्पताल सञ्चालक पवन गुप्तालाई नियन्त्रणमा लिएको छ। भने, घटनामा संलग्न डाक्टर सुमन प्रसाद साह भने फरार रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय स्तरमा पत्रकारमाथिको आक्रमण प्रयासको चर्को विरोध भएको छ। पत्रकार महासंघसहित विभिन्न सञ्चारमाध्यम र नागरिक समाजले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।