मुख्यमन्त्रीको आदेश उल्ट्याउँदै नगरप्रमुखको निर्णय, जनतामा अन्योल: अनुगमन सुधार कि स्टन्टबाजी?

पछिल्लाे समाचार

अखिलेश यादव ।१४ बैशाख ,कलैया : शनिबार मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा कलैयाका १२ वटा निजी अस्पतालमा गरिएको अनुगमनपछि बन्द गर्न दिइएको आदेश २४ घण्टा पनि टिक्न सकेन। कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साहले ती अस्पतालहरूलाई पुनः सञ्चालन गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्रीको टोलीले अनुगमनका क्रममा कलैया उपमहानगरपालिकाभित्रका योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि , समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी लक्ष्मी रिलिफ हस्पिटल, न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक , स्टार डेन्टल क्लिनिक र आशिर्वाद हस्पिटल मापदण्डविपरीत सेवा प्रवाह गरेको देखाउँदै तत्काल बन्द गर्ने आदेश दिएको थियो। ती अस्पतालहरूले १५ सैयाको अनुमति लिएर २५ सैयाको सेवा प्रदान गरिरहेका थिए। मापदण्डविपरीत सञ्चालन भएको भन्दै तत्काल बन्द गर्न आदेश दिएको थियो।

तर नगरप्रमुख बिनोद साहले मुख्यमन्त्रीको आदेशको कुनै अर्थ नरहेको भन्दै ती सबै अस्पताललाई पुनः सञ्चालनको आदेश जारी गरे। साहले स्थानीय सरकार देशको तेस्रो तहको सरकार भएकाले स्थानीय तहको अनुमति बिना प्रदेश सरकारले अस्पताल बन्द गराउने निर्णय गर्न नसक्ने चेतावनी दिएका छन्।प्रदेश सरकारले यदि कुनै अस्पताल मापदण्डविपरीत सञ्चालनमा देखिएको छ भने सो विषयमा स्थानीय तहसँग समन्वय गरेर कारबाही अघि बढाउनुपर्छ, सिधै बन्द गराउन निर्देशन दिनु संवैधानिक प्रक्रिया विपरीत रहेको नगरप्रमुख साहले बताउनुभयो। साहले प्रादेशिक अस्पताल कलैयाको सेवा सुधार गर्न नसकेको मुख्यमन्त्री नेतृत्वलाई निजी अस्पतालमाथि आक्रमण गरेर जनताको उपचार अधिकार खोस्न खोजेको आरोप लगाएका छन्।

मुख्यमन्त्री र नगरप्रमुखबीचको यो टकरावले स्थानीय तह र प्रदेश सरकारबीच गहिरिएको असमझदारीलाई पुनः उजागर गरेको छ। जनता भने मुख्यमन्त्री र नगरप्रमुखको निर्णयलाई कसरी मूल्याङ्कन गर्ने भन्ने अन्योलमा छन्।प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नभएको झल्को दिने यो घटनाले जनतामा विश्वासको संकट थप चुलिएको छ। जनताको आशंका छ कतै स्वास्थ्य सेवा सुधारको नाममा राजनीति र व्यक्तिगत स्वार्थ चलखेल भइरहेका त छैनन्?मुख्यमन्त्रीको निर्देशन २४ घण्टा सम्म टिक्न नसके पछि कतिपय जनताले मुख्यमन्त्रीको यो कदमलाई स्टन्टबाजीको रुपमा लिन थालेको छ ।मुख्यमन्त्री सतिश कुमार सिंहको निर्णय बिपरित रौतहटको चन्द्रपुर् नगरपालिकाले पनि आफना पालिका मातहत मुख्यमन्त्रीले बन्द गर्न निर्देशन दीएको अस्पताल संचालन गर्न अनुमति दिएको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय