१४ बैशाख,सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ मा बजार व्यवस्थापन, सरसफाइ र ट्राफिक व्यवस्थापनका लागि विशेष योजना अघि सारिएको छ। आइतबार वडाध्यक्ष सुनिल कुमार गुप्ताको अध्यक्षतामा वडा कार्यालयमा बसेको बैठकले जीतपुर क्षेत्रको व्यवस्थापनमा सुधार ल्याउने निर्णय गरेको हो।
बैठकमा मुख्यतः टेढा सडक क्षेत्रमा देखिएको ट्राफिक समस्या समाधान गर्नका लागि आगामी वैशाख १६ गतेदेखि ७ दिनसम्म ‘ट्राफिक सप्ताह’ मनाउने निर्णय गरिएको छ। ट्राफिक सप्ताहभर तोकिएको ठाउँमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन पार्किङ गर्न, अनधिकृत पार्किङ हटाउन र सवारी व्यवस्थापनमा सुधार ल्याउन विशेष ध्यान दिइनेछ। त्यसैगरी, बजार क्षेत्र र घरबाट निस्कने फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक सन्देश प्रकाशन गरिने निर्णय भएको छ। फोहोर अव्यवस्थित रुपमा फाल्ने र ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरूलाई स्थानीय तहको कानुनअनुसार कारबाही गरिनेछ।
जीतपुर क्षेत्रको सौन्दर्य र शान्तिपूर्ण वातावरण कायम राख्न सरसफाइ र ट्राफिक व्यवस्थापन अत्यन्त जरुरी रहेको वडाध्यक्ष सुनिल गुप्ताले बताए। अब हामी सचेतना र कार्यान्वयन दुवैमा जोड दिनेछौं उनले बताए । बैठकमा ट्राफिक प्रहरी, बजार व्यवस्थापन समितिका प्रतिनिधि, वडाका जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले जितपुर बजार क्षेत्रलाई व्यवस्थित बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए।