अखिलेश यादव ,०५ जेठ,कलैया ः बारा जिल्लामा कार्यरत पत्रकारहरूलाई लक्षित गर्दै एकदिने कुष्ठरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम द लेप्रोसी मिसन नेपाल र स्वास्थ्य कार्यालय बाराको संयुक्त आयोजनामा कलैयास्थित करण राज पार्टी प्यालेसमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा सहभागी द लेप्रोसी मिसन नेपाल बाराका डा. लोकेश्वर चौरसियाले कुष्ठरोगको संक्रमण, निवारण तथा समयमै उपचारको महत्त्वका विषयमा प्रकाश पारे। उहाँले भने, “कुष्ठरोग स्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले सावधानी अपनाउनु जरुरी छ। तर, रोग लागेको व्यक्तिबाट सामाजिक टाढापन भन्दा उपचारमा जोड दिनुपर्छ।”
डा. चौरसियाका अनुसार बारा, पर्सा र रौतहट जिल्लामा कुष्ठरोग न्यूनीकरणका लागि विभिन्न अभियानहरू सञ्चालन हुँदै आएका छन्। उनले कुष्ठरोग लुकेको रोग भए पनि ढिलासुस्ती गर्दा शरीरका अंगसमेत नष्ट गर्न सक्ने बताए। उनले उपचारको लागि लज्जा नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे।उनका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा बारा जिल्लामा ८९ नयाँ कुष्ठरोगी देखा परेका छन् भने हालसम्म १४५ जना बिरामी उपचार गराइरहेका छन्। मधेश प्रदेशमा सोही वर्षमा ६१० जना नयाँ बिरामी देखिएका छन्। त्यसमध्ये बारा जिल्लामै १२३ जना नयाँ बिरामी रहेका थिए। महिलाहरूमा रोगको जोखिम बढेको भन्दै महिलामुखी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

कार्यक्रममा पत्रकारहरूलाई कुष्ठरोगसम्बन्धी जनचेतनामूलक समाचार सम्प्रेषण गर्न समेत आग्रह गरिएको थियो। पत्रकारहरूले यस्ता विषयमा खोजमूलक रिपोर्ट तयार पारेर समाजमा चेतना फैलाउन सक्ने अपेक्षा आयोजकको रहेको छ।द लेप्रोसी मिसन नेपालकी अनुगमन अधिकृत सीता विष्टले पत्रकारहरू देशका एक स्तम्भ भएकोले समाजमा लुकेर बसेका कुष्ठरोगीको आवाज बुलन्द बनाउन उनीहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। “बिरामीको गोपनीयता सुरक्षित राख्दै उनीहरूलाई उपचारमा प्रेरित गर्नु आवश्यक छ,” उनले भनिन्।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुबेदिले पनि पत्रकारहरूलाई समाजमा लुकेर रहेका बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पु¥याउने खालको भूमिका निर्वाह गर्न आग्रह गरे। उनले कुष्ठरोगलाई अन्य सामान्य रोगसरह हेर्नुपर्ने र यो रोगप्रति रहेका गलत धारणाहरू तोड्न पत्रकारको योगदान महत्त्वपूर्ण रहेको बताए।उक्त अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी ,उपाध्यक्ष पानालाल दास लगाएतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।