अखिलेश यादव ०५ जेठ,सिमरा ः ‘ट्राफिक नियम हाम्रो कर्तव्य, सुरक्षित सडक हाम्रो अधिकार’ भन्ने मूल नारासहित जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा जेठ ७ गतेदेखि एक सातासम्म ‘सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह–२०८२’ सञ्चालन हुने भएको छ। सोमबार उपमहानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे विस्तृत जानकारी दिइएको हो।पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख राजन पौडेलले जीतपुरसिमरा क्षेत्रमा छ लेनको आधुनिक सडक निर्माण भए पनि ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन अभावले सडक दुर्घटनामा कमी आउन नसकेको बताए। “दुर्घटनाको खबर आउँदा सिधै उपमहानगरलाई जोडेर समाचार लेखिनु दुर्भाग्यपूर्ण हो,” पौडेलले भने, “सञ्चारकर्मीहरुले सम्पूर्ण पक्षको जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्नु पर्छ।”
उहाँले सर्भिस लेन व्यवस्थित गर्न आफू प्रारम्भदेखि नै प्रतिबद्ध रहेको स्पष्ट गर्दै भन्नुभयो, “मैले निर्वाचित भएदेखि नै सर्भिस लेन खाली गर्नु पर्ने माग उठाउँदै आएको छु, तर सम्बन्धित निकायसँग समन्वयको अभावमा अझैसम्म प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।” ट्राफिक बत्ती संघीय सरकार अन्तर्गत परेकाले त्यसको स्थितिबारे अध्ययन गरी समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नुभयो। साथै, उहाँले दुर्घटनाको समाचार लेख्नेभन्दा पनि जनचेतना फैलाउनेतर्फ ध्यान दिन सञ्चारकर्मीलाई अनुरोध गरे।उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शान्ती राज प्रसाईले ट्राफिक सप्ताह कुनै एक व्यक्तिको प्रयासले मात्र सफल नहुने भन्दै सबै निकायको हातेमालो आवश्यक रहेको बताए।
वातावरण शाखा प्रमुख पुष्पा सिंहले ट्राफिक सप्ताहबारे कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रम जनसहभागितामूलक र व्यवहारिक हुने बताइन्।नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले सेवा मार्गमा भइरहेको अतिक्रमण हटाउन उद्योग संघ प्रतिबद्ध रहेको जनाए। “सबै मिलेर हातेमालो गरे मात्रै सर्भिस लेन व्यवस्थित गर्न सकिन्छ,” गिरीको भनाइ थियो।यस्तै, परवानिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुना साह रौनियारले आफ्नो पालिकाले ट्राफिक सप्ताहमा आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै यस्ता कार्यक्रमलाई वार्षिक योजना भित्र समावेश गर्नुपर्ने धारणा राखिन्।