महेन्द्र सहनी १२ जेठ, कलैया। बाराको करैयामाई गाउँपालिका–७ स्थित श्री नवजन प्रगति युवा क्लबको आयोजनामा दोस्रो करैयामाई गोल्डकप २०८२ प्रतियोगिता आउँदो जेठ २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता करैयामाई गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने क्लबले जनाएको छ। क्लबका सचिव गोपाल प्रसाद चौधरीका अनुसार प्रतियोगितामा ८ वटा टिमहरूको सहभागिता रहनेछ। सहभागी टिमहरूमा सनराइजिङ युवा क्लब उमजन, बिरगंज सिटी क्लब, बारा ११, नव जन जागृति युवा क्लब सिमरा, एपीएफ वर्दिबास, योंग स्टार युनाइटेड निजगढ, रौतहट ११ र आयोजक नवजन प्रगति युवा क्लब रहेका छन्।
प्रतियोगिता श्री जनता मा.वि. उमजनको खेल मैदानमा हुनेछ। उद्घाटन कार्यक्रम प्रदेशसभा सदस्य बच्चा प्रसाद यादवले गर्ने आयोजक क्लबका अध्यक्ष रूपनारायण यादवले जानकारी दिनुभयो।विजेता टिमलाई नगद रु ६० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिता बाराकाे जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सम्पन्न हुनेछ। प्रतियोगिताको मिडिया पार्टनरको रूपमा कलैया स्थित संस्कार एफएम ९५.६ मेगाहर्ज र रेडियो पातालगंगा १०६.१ मेगाहर्ज रहनेछन् भने मेडिकल पार्टनर बारा बजार स्वास्थ्य चौकी रहने बताइएको छ। आयोजक क्लबका अध्यक्ष रूपनारायण यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष मनिन्द्र चौधरी, सहसचिव जिनिसलाल यादव, सदस्य नरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो। गत वर्षको करैयामाई गोल्डकपमा बिरगंज सिटी क्लब विजेता र बिरगंज युनाइटेड क्लब उपविजेता भएका थिए।