खसीको मासुको नाममा बाख्रीको मासु बिक्री,जीतपुरमा मासु व्यापारीको ठगी धन्दा रोकिएन

पछिल्लाे समाचार

अखिलेश यादव १३ जेठ,सिमरा ः खसीको मासु भनेर बाख्रीको मासु बिक्री गर्दै उपभोक्ताको स्वास्थ्यसँग ठगी गर्ने कार्यमा संलग्न मासु पसल सञ्चालक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक जोजो अधिकारीको कमान्डमा गएको प्रहरी टोलीले सोमबार जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित मुस्कान सप्लायर्स मा छापा मारेर पसल सञ्चालक मिश्री देवानलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार देवानले बाख्रीको मासुमा खसीको अण्डकोष सिलाएर खसीको मासु भन्दै बिक्री गरिरहेका थिए। उपभोक्ताबाट प्राप्त सूचनाका आधारमा गरिएको निगरानीपछि प्रहरी टोलीले पसलमै पुगेर निरीक्षण गर्दै उनलाई पक्राउ गरेको हो।

यो पहिलो पटक भने होइन। यसअघि पनि यही पसलबाट यस्तै गतिविधिमा संलग्न अवस्थामा मिश्री देवान पक्राउ परिसकेका थिए। तर, बारम्बार पक्राउ परे पनि ठोस कारबाहीको अभावमा उनी यस्तै गैरकानुनी धन्दा गर्न पछि नपरेको स्थानीयको आरोप छ । यसअघि होलिका अवसरमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा पनि बाख्रीको मासुमा खसीको अण्डकोष सिलाएर बिक्री गर्दै आएका तीन जना व्यापारीहरू—मुस्कान मासु पसलका अहमुल्लाह देवान, प्रवेज मासु पसलका संचालक रफिक देवान, र सिमरास्थित सिमरा मिट हाउसका संचालक शेष ओहाना—पक्राउ परेका थिए।

पटक–पटक प्रहरीले अनुगमन गरी मासु व्यापारीहरूलाई पक्राउ गरे पनि कारबाहीको प्रभावकारीता नदेखिएको स्थानीयवासीको भनाइ छ। उनीहरू भन्छन्, “प्रहरीले समातेर छोड्ने काम मात्र गरिरहँदा यस्ता ठग व्यापारीको मनोबल अझै बढेको छ।”स्थानीय उपभोक्ताहरूले नियमित अनुगमन, निगरानी र कानुनी कठोर कारबाहीको माग गर्दै आएका छन्। जीतपुर बजारमा यस्ता अनियमितता दिनप्रतिदिन बढ्दै गएको उनीहरूको गुनासो छ। यस विषयमा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय