अखिलेश यादव । २३ जेठ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरमा सम्पन्न पाँचौं हरपुर क्रिकेट च्याम्पियनसिपको उपाधि जिल्ला क्रिकेट संघ बाराले उचाल्न सफल भएको छ। बिहीबार सम्पन्न फाइनल खेलमा बाराले रौतहट क्रिकेट संघलाई ६ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो। फाइनल खेलमा रौतहटले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा जम्मा ७६ रन बनाएको थियो। बाराका बलरहरूले सुरु देखिनै दबाब कायम राखे। रौतहटका लागि शैलेन्द्र कुशवाहाले १५ र डब्लु मलिकले १३ रन बनाए भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे।

बाराको बलिङतर्फ कप्तान अरनिको यादवले ३ ओभरमा १ ओभर मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए। निखिल सिंहले २ विकेट तथा भुलावन सहनी, कमल गुप्ता र सिराज हवारीले समान १/१ विकेट लिए।७७ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको बाराले १५.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। साहिल पटेलले १५ बलमा ३ चौका र १ छक्का सहित २४ रन बनाए भने निरज कुमार यादवले १९, आदिल अन्सारीले १२ र कप्तान अरनिको यादवले अविजित १२ रन बनाउँदै टोलीलाई जित दिलाए।रौतहटतर्फ मोहन घिमिरेले २ विकेट लिए भने धर्मेन्द्र साह र आशिक बैठाले १/१ विकेट लिए।

३ विकेट लिएका कप्तान अरनिको यादव खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।समापन समारोह हरपुर क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीको अध्यक्षता र नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनोज पौडेलले खेलकुद क्षेत्रले युवाहरूलाई अनुशासित, स्वास्थ्य र सकारात्मक दिशामा अघि बढाउने बताउँदै भने, “यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेका प्रतिभा उजागर गर्न सहयोग पुर्याउँछ।

अध्यक्ष सेराजुल अन्सारीले भने, “पाँचौं संस्करणसम्म आइपुग्दा प्रतियोगिता अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनेको छ। आउँदा दिनमा अझ उच्चस्तरीय प्रतियोगिता गरिनेछ।”बिजेता बाराले नगद ६० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रौतहटले ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो। दुबै टोलीलाई प्रमुख अतिथि पौडेलले नगद पुरस्कार र ट्रफी प्रदान गरेका थिए।प्रतियोगिताकै उत्कृष खेलाडीको पुरस्कार बाराका क्याप्टेन अरनिको यादवले पाएको छ ।