२३ जेठ ।कलैया : बाराको परवानीपुर गाउँपालिकाको वडा नं. ४ मा सञ्चालनमा रहेका केही उद्योगहरू सूचिकृत तथा दर्ता नहुँदा त्यसको वैधानिकता, कर प्रणाली तथा वातावरणीय मापदण्डमा प्रश्न उठिरहेका बेला पालिकाले ती उद्योगहरूको अनुगमन गरेको छ। गाउँपालिका अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मीको नेतृत्वमा भएको संयुक्त अनुगमन टोलीमा गाउँ प्रहरी, इलाका प्रहरी बुनियाद, इलाका प्रहरी प्रसैनीका प्रतिनिधिहरू, सुरक्षाकर्मीहरू तथा स्थानीय पत्रकारहरू सहभागी थिए। अनुगमनको क्रममा सूचिकृत तथा दर्ता नभएका उद्योगहरूलाई सात दिनभित्र उद्योग दर्ता गर्न अनिवार्य निर्देशन दिइएको छ। सम्बन्धित उद्योग सञ्चालकहरूलाई सम्झौता पत्रमा हस्ताक्षर गराइ सो निर्देशन पत्रसमेत प्रदान गरिएको पालिकाले जनाएको छ।

श्री हरि रिप्याकेजिङ प्रा.लि ,विना सति पेपर उद्योग, प्रदीप पोलोथिन इन्डष्ट्रिज ,पशुपति कुट उद्योग, तराई केमिकल इन्डष्ट्रिजमा अनुगमन गरिएको पालिकाले जनाएको छ। पालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले अनुगमनपश्चात प्रतिक्रिया दिँदै भने, “गाउँपालिकामा सञ्चालनमा रहेका सबै उद्योगले कानुनी दायराभित्र रही सञ्चालन गर्नु आवश्यक छ। असूचिकृत उद्योगले वातावरण र जनस्वास्थ्यमा असर पुर्याउन सक्ने हुँदा हामी गम्भीर रहेको बताए । पालिकाले उद्योग दर्ता, कर प्रणालीको पालना तथा वातावरणमैत्री उत्पादन प्रणालीको सुनिश्चितता गर्न आगामी दिनमा समेत यस्ता अनुगमन जारी राख्ने बताएको छ।
