आरसिबी पहिलोपटक आइपिएल च्याम्पियन, पञ्जाबको सपना फेरि अधुरै

पछिल्लाे समाचार

२१ जेठ,काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले जितेको छ । मंगलबार राति सम्पन्न फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसिबीले पहिलोपटक आइपिएल उपाधि जितेको हो । आरसिबीले चौथो प्रयासमा उपाधि जितेको हो । उसले सन् २००९, २०११ र २०१६ को आइपिएल फाइनलमा स्थान बनाएको थियो । तर, ती तीनवटै फाइनलमा आरसिबी पराजित भयो ।

९ वर्षपछि फाइनल खेलको पञ्जाबको उपाधि सपना भने फेरि अधुरै रह्यो । उसले दोस्रोपटक फाइनलमा स्थान बनाएर पनि उपाधि जित्न नसकेको हो ।पञ्जाबले पछिल्लोपटक सन् २०१४ को आइपिएल फाइनल खेलेको थियो । उक्त फाइनलमा पञ्जाब कोलकातासँग पराजित भएको थियो । र, उसले त्यो क्रम २०२५ मा पनि दोहोर्यायो । यसपालि फाइनलमा आरसिबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।उसका लागि शशांक सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ३० बलमा ६ छक्का र तीन चौकासहित अविजित ८१ रनको पारी खेलेका हुन् ।

यस्तै, जोस इंग्लिसले ३९, प्रभसिमरन सिंहले २६, प्रियांस आर्यले २४ र नेहाल बधेराले १५ रन जोडे । आरसिबीका लागि भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले दुई/दुई तथा जोस हेजलउड, रोमारियो सेफर्ड र यस दयालले एक/एक विकेट लिए ।त्यसअघि गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो ।उसका लागि पूर्वकप्तान विराट कोहलीले ३५ बलमा तीन चौकासहित सर्वाधिक ४३ रन बनाए ।


यस्तै, कप्तान रजत पाटिदारले २६, लियाम लिभिङस्टोनले २५, मयंक अग्रवाल र जितेश शर्माले २४/२४, रोमारियो सेफर्डले १७ र फिल साल्टले १६ रन जोडे ।पञ्जाबका लागि कायल जेमिसन र अर्शदीप सिंहले तीन/तीन तथा अज्मतुल्लाह ओमारजाई, विजयकुमार वैशाख र युजवेन्द्र चहलले एक/एक विकेट लिए ।
यस सिजनको आइपिएलमा आरसिबी पञ्जाबलाई हराउँदै फाइनल पुगेको थियो । यस्तै, पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई स्तब्ध पार्दै फाइनलमा आरसिबीसँगको भेट पक्का गरेको थियो ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय