१८ जेठ ।कलैया— पर्दाफास मिडिया प्रा.लि.द्वारा सञ्चालित Pardafasdaily.com अनलाइनमा मिति २०८२ जेठ १८ गते “यातायात व्यवस्था कार्यालय कलैयामा घुसको रकम फलाफाल, अख्तियार दुरुपयोग मौन” शीर्षकमा प्रकाशित समाचारप्रति यातायात व्यवस्था कार्यालय, कलैयाले गम्भीर आपत्ति जनाएको छ। कार्यालयले एक प्रेस विज्ञप्तिमार्फत उक्त समाचार आधारहीन, तथ्यहीन, कपोकल्पित र भ्रामक भएको भन्दै खण्डन गरेको हो। विज्ञप्तिमा उल्लेख गरिएको छ कि न त अनुपस्थित परीक्षार्थीका लागि गैरकानूनी ट्रायल गरिएको छ, न त ड्रेस वा हेलमेट चेञ्ज गरिएको छ, न त अनुतिर्ण परीक्षार्थीलाई उर्तीण गरिएको छ, र न त कुनै कर्मचारी घुस प्रकरणमा संलग्न छन्।
कार्यालयले स्पष्ट पारेको छ कि समाचारमा नाम आएको व्यक्ति सिकेन्दर दास उक्त कार्यालयको कर्मचारी नै होइनन्, र उनको कार्यालय प्रमुखसँग कुनै पनि सम्बन्ध छैन। यस्तो झूटो आरोपले प्रदेशकै प्रमुख राजस्व उठ्ती कार्यालयको साखमा आघात पुगेको जनाउँदै, यस्ता समाचार राष्ट्रसेवक कर्मचारी र ट्राफिक प्रहरीको चरित्र हत्या गर्ने खालको भएको विज्ञप्तिमा भनिएको छ।
कार्यालयले प्रेस काउन्सिल नेपाललाई पत्र पठाउँदै उक्त अनलाइन सञ्चारमाध्यमविरुद्ध आवश्यक कारबाही गर्न र सम्बन्धित सञ्चालक र संवाददातामाथि कारबाही गर्न अनुरोध गरेको छ। साथै, समाचार सम्प्रेषणअघि कार्यालयको राय तथा प्रतिक्रिया नलिएकोले पत्रकार आचारसंहिताविपरीत कार्य भएको दाबी गरिएको छ।।कार्यालयले आम नागरिक, सरोकारवाला निकाय तथा सञ्चारमाध्यमहरूलाई यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न अनुरोध गर्दै, सेवा सम्बन्धमा कुनै गुनासो वा जिज्ञासा भएमा सूचना अधिकारी जिवरमण पौडेल वा कार्यालय प्रमुखसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने जानकारी दिएको छ।