सिमरा, जेठ १७ – जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा डेंगु लगायत किटजन्य रोगहरूको नियन्त्रण सम्बन्धी सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सिमरामा सम्पन्न भएको छ। उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उपमहानगरपालिका भित्रका मेडिकल व्यवसायी, पत्रकार, प्रहरी लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न गरिएको थियो।

कार्यक्रममा उपमहानगर जनस्वास्थ्य शाखा प्रमुख रविकुमार भाष्करले डेंगु लगायतका किटजन्य रोगहरूको विस्तार, जोखिम र नियन्त्रणका उपायबारे जानकारी गराउनुभएको थियो। उहाँले सरोकारवालाहरुले डेंगु नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे सहजीकरण गर्नुका साथै रोग सर्ने तरिका, लक्षण तथा बच्ने उपायसमेत स्पष्ट पार्नुभएको थियो। भाष्करका अनुसार डेंगु ज्वरो इडिस इजिप्टाई र इडिस अल्वोपिक्टस नामक पोथी लामखुट्टेले सार्ने फ्लेभीभाइरस समूहको रोग हो। यो लामखुट्टे दिनको समयमा टोक्ने गर्दछ। डेंगुको चार प्रकार डेन-१, डेन-२, डेन-३ र डेन-४ मध्ये डेन-२ बढी खतरनाक मानिन्छ।
डेंगु रोग ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रका गरिब बस्तीहरूमा बढी देखिने गरेको जनाउँदै उहाँले घर वरपरका टायर, गमला, फुटेका बोतल, खुला पानी टंकीजस्ता ठाउँमा सफा पानी जम्न नदिन सबैलाई आग्रह गर्नुभयो। उहाँले त्यस्ता स्थानमा इन्डिस लामखुट्टेले अण्डा पार्ने, लार्भा र प्युपामा परिणत भई अन्ततः रगत चुस्ने वयस्क लामखुट्टे बन्ने प्रक्रिया समेत प्रष्ट पार्नुभयो।
भाष्करका अनुसार डेंगुको संक्रमण देखिन ३ देखि १० दिन लाग्ने र लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फेरेनहाइटसम्म), टाउको दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, शरीरमा राता डावर आउने, नाक वा गिजाबाट रगत आउने जस्ता लक्षण देखिन्छन्। समयमा उपचार नभएमा बिरामी कोमामा पुग्न सक्ने र मृत्यु समेत हुन सक्ने खतरा हुने चेतावनी दिनुभयो। कार्यक्रममा उपमहानगर सामाजिक विकास महाशाखा प्रमुख शिवजी प्रसाद र पत्रकार प्रकाश लम्सालले पनि मन्तव्य राख्दै डेंगु नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।.कार्यक्रममा सहभागी सरोकारवालाहरूले आफ्ना-आफ्ना क्षेत्रबाट जनचेतनामूलक कार्यक्रमलाई सशक्त बनाउँदै डेंगु नियन्त्रणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।