अखिलेश यादव । १७ जेठ ,सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग एवं हरपुर क्रिकेट क्लबको आयोजनामा हरपुर क्रिकेट मैदानमा पाँचौं हरपुर क्रिकेट च्याम्पियनसिप प्रतियोगिता शनिवारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले ब्याटिङ गरेर गर्नुभएको हो।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख पौडेलले समयमै बजेट उपलब्ध नगराएकै कारण प्रतियोगिता ढिलो सुरु भएको बताउँदै आगामी वर्षदेखि समयमै बजेटको व्यवस्था गरेर प्रतियोगिता नियमित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले हरपुर क्रिकेट मैदानको मर्मतका लागि उपमहानगर समन्वय गर्ने समेत बताउनुभयो। “क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ, त्यसैले उपमहानगरले विद्यालय स्तरदेखि नै खेलकुदको विकासमा जोड दिँदै आएको छ,” नगरप्रमुख पौडेलले भन्नुभयो।

हरपुर क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ता, नेकपा एमालेका नगर अध्यक्ष त्रिलोक साह ठकुरी, माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उद्घाटन खेलमा रौतहट विजयी
प्रतियोगिताको उद्घाटन खेलमा जिल्ला क्रिकेट संघ रौतहटले मकवानपुर क्रिकेट संघलाई २८ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको रौतहटले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनको योगफल तयार पारेको थियो। रौतहटका लागि शनि साहले सर्वाधिक २४ रन बनाउँदा, अरविन्द चौधरीले १० बलमा ४ चौकाको मद्दतले १९ रन, निस्चल विक्रम साहले १४ तथा नितेश यादवले १३ रनको योगदान दिए। बलिङतर्फ मकवानपुरका अशिम श्रेष्ठले ३ ओभरमा १ मेडेनसहित केवल ७ रन खर्चेर ४ विकेट लिए। शुभ कन्सकारले ४ ओभरमा १२ रन दिँदै ३ विकेट झारे भने निस्चल दुलाले २ विकेट लिए।

११० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको मकवानपुर टोली १८ ओभरमा ८० रनमै समेटियो। टोलीका लागि सुमन सुनारले सर्वाधिक २६ बलमा ३ चौका र २ छक्काको मद्दतले उत्कृष्ट प्रदर्शन गरे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।रौतहटका बलर उमेश पटेल, नितेश यादव, आशिक बैठा र शनि साहले समान २/२ विकेट लिए। दोस्रो इनिङको पहिलो बलदेखि नै दबाब सिर्जना गरेको रौतहटको बलिङ आक्रमणसमक्ष मकवानपुरले आत्मसमर्पण गर्नुपर्यो। शानदार प्रदर्शनका लागि रौतहटका शनि साह ‘प्लेयर अफ द म्याच’ घोषित भए।प्रतियोगिता अन्तर्गत आइतबार दुई वटा खेलहरू आयोजना हुने आयोजकले जनाएको छ।