टाँगियाबस्तीमा चाउमिन र सस उत्पादन तालिम सुरु, लघु उद्यममार्फत गरिवी निवारणको लक्ष्य

पछिल्लाे समाचार

अखिलेश यादव । २५ जेठ,सिमरा : “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने नारासहित जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी निवारणका लागि सञ्चालन गर्दै आएको लघु उद्यम प्रवर्द्धन कार्यक्रम (मेड्पा) अन्तर्गत आइतबार देखि वडा नं. १६ टाँगियाबस्तिमा चाउमिन उत्पादन र सस निर्माणसम्बन्धी सिप विकास तालिम सुरु गरिएको छ।

चारदिने तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप–प्रमुख श्री भोला प्रसाद अधिकारीले गरे। कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख अधिकारीले स्थानीयस्तरमै उपलब्ध स्रोतसाधनको उपयोग गरी लघु उद्यम सञ्चालन गर्न सकिएमा रोजगारी सिर्जना मात्र होइन, आत्मनिर्भरता पनि बढ्ने बताए। टोल समुदायका महिलाहरू, युवाहरूलाई लक्षित गरी दिइने यस्ता व्यावसायिक तालिमहरूले आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने उपप्रमुख अधिकारीले बताए ।

तालिममा सहभागीहरूले चाउमिन र सस उत्पादनको सम्पूर्ण प्रक्रिया—कच्चा पदार्थको छनोटदेखि उत्पादन, प्याकेजिङ, बजार व्यवस्थापन तथा गुणस्तर मापनसम्बन्धी व्यवहारिक तालिम पाउनेछन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगन्जका खाद्य अधिकृत श्री जगत चौधरी लगायत प्राविधिक टोलीले तालिम प्रदान गर्ने छन्। उनीहरूले उत्पादनमा स्वच्छता, पोषण, र बजार अनुकूल प्याकेजिङको महत्त्वबारे विस्तृत जानकारी दिनेछन्।तालिम आयोजनामा संलग्न जीतपुरसिमरा उपमहानगरपालिकाका लघु उद्यम सहजकर्ता दीपनारायण चौधरीका अनुसार, “तालिमले सहभागीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ। साना लगानीमा सुरु गर्न मिल्ने यस्ता उद्यमहरूले विशेषगरी गरिब तथा बेरोजगार वर्गलाई आर्थिकरूपमा सशक्त बनाउन मद्दत गर्छ।”

तालिम जेठ २५ गतेदेखि सुरु भई जेठ २८ गतेसम्म सञ्चालन हुनेछ। तालिम सम्पन्न भएपछि सहभागीहरूले सम्बन्धित व्यवसाय सुरु गर्न आवश्यक प्राविधिक सहयोग तथा प्रारम्भिक सल्लाह पनि पाउनेछन्। उपमहानगरपालिकाले यसअघि पनि अन्य वडामा विभिन्न सिपमूलक तालिम सञ्चालन गरिसकेको छ। यसपटकको तालिमले विशेषगरी महिलाहरूको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ। कार्यक्रम आयोजकहरूले तालिमपछि उत्पादन सुरु गर्नेहरूलाई बजार जोड्न आवश्यक पहल र सहजीकरण गरिने जनाएका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय