१३ असार,कलैया : पचरौता नगरपालिकाले आफ्ना किसानहरूलाई राहत दिन थालेको कृषि विद्युत महसुल अनुदान कार्यक्रम अन्तर्गत करिब ४७ लाख ६४ हजार रुपैयाँ बराबरको विद्युत महसुल नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ।नगरप्रमुख जलन्धर सिंहको कार्यकक्षामा शुक्रबार आयोजित समारोहका बीच नेपाल विद्युत प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रका प्रमुख तैय्यब अंसारीलाई चेक हस्तान्तरण गरिएको हो। यो रकम नगरपालिकाभित्रका कृषकहरूले कृषि प्रयोजनका लागि प्रयोग गरेको विद्युतको महशुल हो।
नगरप्रमुख सिंहले कार्यक्रममा बोल्दै भने, “हामीले चुनावी प्रतिबद्धतामध्ये कृषकलाई ऊर्जा तथा प्रविधिमा सहज पहुँच गराउने लक्ष्य लिएका थियौं। सोही अनुसार यो चेक हस्तान्तरण गरिएको हो।” उनले आगामी आर्थिक वर्षदेखि कृषिलाई आधुनिकीकरण र बजारीकरण गर्न आवश्यक उपकरण र तालिमहरूमा समेत लगानी गरिने स्पष्ट गरे।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त जोशी, पालिका प्रवक्ता लक्ष्मी यादव, शिक्षा सहायक मुकेश कुमार सिंह, र स्थानीय समाजसेवी प्रभु ठाकुर लगायतको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा सहभागी वक्ताहरूले पचरौता नगरपालिकाको यस कदमलाई किसानमैत्री र दिगो कृषि नीतिको नमूना भन्दै प्रशंसा गरे।नगरपालिकाले कृषिमा अनुदान कार्यक्रमलाई थप सुदृढ बनाउँदै लैजाने तयारी गरेको बताइएको छ। यसले भविष्यमा किसानको उत्पादन लागत घटाउने र उपजको प्रतिफल बढाउने अपेक्षा गरिएको छ।