१४ असार,कलैया ः बारा प्रहरीले लागुऔषध गाँजाको ठूलो परिमाणसहित एक पिकअप गाडी र चारजना पुरुषलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा २१२ किलो ९२८ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाहा नगरपालिका ४ तालुङका २८ वर्षीय रबि कार्की, मकवानपुर टिसटुङ १२ का ४६ वर्षीय बिर बहादुर गोले, मकवानपुर हेटौडा उपमहानगरपालिका १४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका ७ आपसी चौकका ३१ वर्षीय महेश तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले परवानीपुर गाउँपालिका ५ बहुअरीस्थित गण्डक नहर सडक खण्डमा चेकप्वाइन्ट स्थापना गरी सवारी तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा दुई सय १२ किलो ९२८ ग्राम लागूऔषध गाँजा फेला परेको हो ।हेटौडाबाट आउँदै गरेकोे प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडी जाँचको क्रममा धानको भुसभित्र लुकाई राखिएको अवस्थामा लागूऔषध गाँजा फेला परेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जनाएका छन् ।पक्राउ परेका चारै जनालाई हाल जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी लागूऔषध नियन्त्रणसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।