अखिलेश यादव ।०१ श्रावन : रसुवास्थित नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा असार २४ गते मंगलबार बिहान आएको भीषण बाढीले नेपाली र चिनियाँ नागरिकसहित २० जनालाई बेपत्ता बनाएको थियो। बाढीमा परेर बेपत्ता हुनेमध्ये बारा जिल्लाको फेटा गाउँपालिका–१, भलुही टोलका २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर पनि एक हुन्। २०७८ सालमा नेपाल प्रहरीमा भर्ती भएका ठाकुर हाल रसुवागढीमा कार्यरत थिए। जेठ ११ गते घर आएका उनी केही दिन बसेर पुनः ड्युटीमा फर्किएका थिए। तर बाढी आएको दिनदेखि उनी सम्पर्कविहीन छन्।
बेपत्ता भएको नौ दिन बितिसक्दा पनि मुन्ना ठाकुरको अवस्था अझै अज्ञात रहँदा परिवारमा निराशा र पीडा बढेको छ। ठाकुरकी आमा सुनैना देवी छोराको सकुशल उद्दारको आशामा दिनरात भगवानसँग प्रार्थना गरिरहेकी छन्। “मेरो छोरा सकुशल फिर्ता आओस् भनेर म भगवानसँग प्रार्थना गरिरहेकी छु,“ उनले भनिन्।त्यस्तै, प्रहरी जवान ठाकुरको पत्नी गुन्जा ठाकुरले पनि सम्बन्धित निकायलाई उद्दारमा थप सक्रियता देखाउन आग्रह गरेकी छन्। “जेठ ११ गते घर आएका श्रीमानले अबको पोस्टिङ्ग वीरगञ्ज भएको भन्दै केही दिनमा आउँछु भन्नु भएको थियो, तर अहिले ९ दिन भयो, केही अत्तोपत्तो छैन,“ उनले बताइन्।
परिवारका अन्य सदस्यहरू समेत ठूलो मानसिक तनावमा छन्। मुन्नाका ठूलोबुवा फुल्चन ठाकुरले राज्यसँग भतिजोको सकुशल उद्दार वा शव फिर्ता गरिदिन आग्रह गरेका छन्।बाढीपछि खोजी कार्यमा खटिएको टोलीले अहिलेसम्म ७ जनाको शव फेला पारेको छ। तीमध्ये एक शव मुन्ना ठाकुरको हुन सक्ने आशंका गरिएको छ। उनका बुवा डीएनए परीक्षणका लागि काठमाडौं गएका छन् भने परीक्षणको नतिजा आउन बाँकी छ।उक्त बाढीमा प्रहरी जवान ठाकुरसहित तीन जना सुरक्षाकर्मी समेत बेपत्ता भएका छन्। सरकारले अझै पनि खोजी कार्य जारी रहेको जनाएको छ। तर नौ दिन बितिसक्दा पनि कुनै ठोस प्रगति भएको छैन । नेपालमा प्रत्येक वर्ष बाढीका कारण सयौं मानिसले ज्यान गुमाउने गरेका छन्। रसुवागढीको बाढीमा बेपत्ता भएकाहरूका परिवारहरू, मुन्ना ठाकुरको परिवार जस्तै, आफन्तको पर्खाइमा दिनगन्ती गरिरहेका छन्।

