०३ साउन,कलैया : शिक्षा क्षेत्रमा बढ्दो ठगी र व्यापारिक प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले बाराको सदरमुकाम कलैयामा ‘क्यारियर क्रिएटिभ एजुकेशनल कन्सल्टेन्सी’ को औपचारिक उद्घाटन गरिएको छ। शनिबार बरेवा दरबार होटल एन्ड ब्यान्क्वेटको सभाहलमा आयोजित भव्य समारोहबीच शाखाको शुभारम्भ गरिएको हो।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा कलैया उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव यादवले शिक्षा क्षेत्रमा देखिएको ठग प्रवृत्तिलाई रोक्न सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
“नेपाल सरकारबाट मापदण्डअनुसार दर्ता नभएका कन्सल्टेन्सीहरूकै कारण विद्यार्थीहरू ठगिन बाध्य छन्,” उनले भने, “कलैयाका कुनै पनि विद्यार्थी ठगिन नपरोस् भन्ने हाम्रो प्रमुख सरोकार हो।”कार्यक्रममा अधिवक्ता तथा युवा नेता डा. सुशील साहले शिक्षामा बढ्दो प्रतिस्पर्धा र प्रविधिमैत्री सीपको आवश्यकतालाई औंल्याउँदै, “यो युग आर्टिफिसियल र क्रिएटिभ एजुकेसनको युग हो, सही कन्सल्टेन्सीमार्फत युवालाई मार्गदर्शन गर्न सकिन्छ,” भन्दै नयाँ कन्सल्टेन्सीप्रति विश्वास व्यक्त गरे।देशभर चार वटा शाखा—काठमाडौं, बनेपा, जनकपुर र कलैया ,मार्फत सेवा दिइरहेको कन्सल्टेन्सीले क्यानाडा, अस्ट्रेलिया, अमेरिका, चीन, युके, भारत लगायत देशहरूमा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श, करियर काउन्सेलिङ, आवेदन प्रक्रिया र भिसासम्बन्धी सम्पूर्ण सेवा दिने बताइएको छ।
बनेपा शाखा प्रमुख राजकुमार घिमिरेले कलैया शाखाबाट सेवा लिने पहिलो पाँच विद्यार्थीलाई ल्यापटप उपहार दिने घोषणा गरेका छन्।कार्यक्रममा कलैया शाखा प्रमुख विशाल गुप्ताको अध्यक्षता रहेको थियो। कार्यक्रममा कन्सल्टेन्सीका प्रबन्धक अशोक कुमार साह, पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारीका नेता अच्युत पौडेल, वडा सदस्य शशी दास लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

