एसी मर्मतको बिषयमा विवाद हुदाँ पसल सञ्चालकमाथि बियरको बोतल प्रहार, एक जना घाइते

पछिल्लाे समाचार

०५ श्रावन, कलैया :बाराको कलैया उपमहानगरपालिका–५ अस्पताल रोडस्थित एसी सर्भिस सेन्टरमा एसी मर्मतसम्बन्धी विवादका क्रममा पसल सञ्चालकमाथि आक्रमण भएको छ।आइतबार एसी मर्मत गर्ने पसलका संचालक माथि आक्रमण भएको बारा प्रहरीले जनाएको छ । कलैया–४ निवासी साहिल साहले दुई वर्षअघि मर्मतका लागि दिएको स्याम्सुङ कम्पनीको एसी तोकिएको समयमा पनि मर्मत नपाएको भन्दै सर्भिस सेन्टरका सञ्चालक सन्तोष कुमार साहसँग भनाभन गरेका थिए। सोही भनाभनले उग्र रूप लिएपछि साहिलले सञ्चालक सन्तोषको टाउकोमा बियरको बोतल प्रहार गरेका हुन्।

झडपपछि घाइते भएका सञ्चालक साहलाई तत्कालै प्रादेशिक अस्पताल कलैयामा प्रारम्भिक उपचार गराइएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई बीरगञ्जस्थित एल।एस। न्युरो अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितले जानकारी दिएको छ।प्रहरीका अनुसार सन्तोषको टाउकोमा गम्भीर चोट लागेको छ, र उनको अवस्था थप परीक्षणपछि मात्र यकिन हुने बताइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय राज पण्डितका अनुसार आक्रमणकारी साहिल साहलाई तत्काल नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सामान्य देखिने मर्मतसम्बन्धी विवाद हिंसात्मक रूप लिनु गम्भीर विषय भएको भन्दै प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि अनुसन्धान गरिने जनाएको छ। घटनास्थल आसपासका सर्वसाधारण भने दिनदहाडै भएको हिंसात्मक झडपले त्रसित भएका छन्।यसरी साना विवादले ठूलो रूप लिँदा व्यवसायिक क्षेत्रमा तनाव उत्पन्न हुने भएकाले स्थानीय व्यापारीहरूले यस्ता विषयलाई कानुनी तरिकाले समाधान गरिनुपर्ने मागसमेत गरेका छन्।

a

spot_imgspot_img
spot_img

लोकप्रिय