१५ श्रावन,जनकपुर : धनुषा प्रहरीले जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनको आमाको प्रेमी रामबाबु साहलाई पक्राउ गरिएको हो। बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता नायव उपरीक्षक बरुणबहादुर सिंहले पक्राउ परेका ३५ वर्षीय रामबाबु साहको बारेमा जानकारी दिएका छन्। रामबाबुलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथ-९ बाट पक्राउ गरिएको थियो।
रामबाबु साहलाई यसअघि पनि आफ्नो श्रीमतीको हत्या गरेको आरोपमा पाँच वर्षको सजाय भोगेर २०७७ मा रिहा गरिएको थियो। उनले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो। यस घटनामा अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका-१, ढल्केवरका होविन्द्र यादवकी १४ वर्षीया छोरी राशा यादव पनि घाइते भएका छन्। आशा यादवलाई उपचारका लागि धरानको बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी अनुसन्धानका अनुसार, अञ्जलीको हत्यामा मुख्य कारण उनकी आमा आशा यादवको प्रेम सम्बन्ध रहेको खुल्न आएको छ। रामबाबु साहले आशासँग प्रेम सम्बन्धमा रहँदै भनेका छन् कि आशाको श्रीमानले दुबैलाई आफ्नो सहमति दिएपछि उनीहरूले छुट्टै बस्ने निर्णय गरेका थिए। घटनासँग सम्बन्धित थप जानकारी अनुसार, रामबाबुले आशालाई अटो किनिदिएको र आर्थिक अवस्थाको सुधारपछि आशाले रामबाबुसँग सम्बन्ध तोड्दै पुरानै श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले आक्रोशित भएर हत्याको घटना घटाएको बताएको छ।