अखिलेश कुमार यादव । १६ श्रावन,कलैया : बाराको सदरमुकाम कलैयामा अवस्थित गुडरी बजार शुक्रबार बिहानदेखि अनिश्चितकालीन रुपमा बन्द गरिएको छ। दैनिकजसो चहलपहलले भरिने उक्त बजार बन्द हुँदा बजार क्षेत्रमा सुनसान अवस्था देखिएको छ।कलैया उपमहानगरपालिकाका २७ वटै वडाका बासिन्दासहित छिमेकी पालिकाहरु — प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र महागढीमाई नगरपालिकाबाट समेत सर्वसाधारण सुपथ मूल्यमा तरकारी र अन्य आवश्यक सामग्री किन्न गुडरी बजार आउने गर्छन्। तर शुक्रवार बजार अनायासै बन्द हुँदा उपभोक्ताहरु हातखाली फर्किन बाध्य भएका छन्।

बजारमा बिहान तरकारी किन्न आएका हजारी साह र फौज मिया अन्सारीले घरमा तरकारी नभएको समयमा बजार बन्द भएपछि धेरै दुःखी भएर फर्किएको गुनासो गरे।कलैया उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत गुडरी बजारमा लगाइँदै आएको करको दायरा वृद्धि गरेपछि यस निर्णयको विरोधस्वरूप बजारका व्यापारीहरुले अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्।व्यवसायी आलम अन्सारीका अनुसार अघिसम्म व्यापारीहरुले २० देखि ५० रुपैयाँसम्म कर तिर्दै आएका थिए भने अहिले त्यो कर ५० देखि ७० रुपैयाँसम्म पुर्याइएको छ। “अहिलेको आर्थिक मन्दीको अवस्थामा व्यापारीहरूमाथि करको बोझ थप्नु अन्यायपूर्ण छ,” उनले भने, “जबसम्म बढाइएको कर फिर्ता लिँदैन, तबसम्म बजार नखोल्ने हाम्रो निर्णय छ।”

स्थानीय समाजसेवी सुशील साहका अनुसार उपमहानगरपालिकाले नियमविपरीत ढंगले कर वृद्धि गरेर व्यापारी र उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ।उता कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले भने नगर कार्यपालिका, राजस्व परामर्श समिति र नगर सभाको निर्णयअनुसार नै बजार कर वृद्धि गरिएको स्पष्ट पारे। “आन्तरिक स्रोत वृद्धि गर्नु आवश्यक भएकाले थोरै मात्रामा कर समायोजन गरिएको हो,” उनले भने।

यस विषयमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले भने, “कलैया उपमहानगरको राजस्व परामर्श समिति, नगर कार्यपालिका र नगरसभाको निर्णय अनुसार नै गुडरी बजारमा विगतमा लाग्दै आएको बितोरी कर (स्थान भाडा कर) समायोजन गरिएको हो।”
उनका अनुसार आन्तरिक श्रोत वृद्धि गर्नुपर्ने आवश्यकताको कारणले ‘समय सापेक्ष रुपमा’ थोरै मात्रामा कर समायोजन गरिएको हो। “विगतको तुलनामा थोरै रकम मात्र थप गरिएको हो, जुन अन्य बजारसँग तुलना गर्दा पनि अत्यधिक छैन,” साहले स्पष्ट पारे।व्यवसायीहरुले उपमहानगरको एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै आवश्यक परे कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।एकातिर जनताले अमूल्य मत दिएर जिताएका जनप्रतिनिधिहरुले जनताको समस्या बुझ्नुपर्नेमा उल्टै करको दायरा बढाउँदै सर्वसाधारणको पीडामा थप बोझ बोकाउने काम गरिरहेको गुनासो स्थानीयवासीको छ।बारा बाट अखिलेश कुमार यादवको रिपोर्ट