२६ श्रावन ,धनुषा : खडेरीको चपेटामा परेका मधेश प्रदेशका आठ जिल्लामा यस वर्षको धान रोपाइँ सामान्यभन्दा निकै कम भएको छ। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर करिब ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।मधेशका आठ जिल्लामध्ये बारामा सबैभन्दा बढी ९५ प्रतिशत रोपाइँ भएको छ भने महोत्तरीमा सबैभन्दा कम ६१.५ प्रतिशत मात्र रोपाइँ भएको छ। प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा अहिलेसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको हो।
निर्देशक जितेन्द्र यादवका अनुसार यस वर्ष पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट केही क्षेत्रमा रोपाइँको क्षेत्रफल बढेको छ। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट सिँचाइ भएकाले स्थिति केही सहज भएको छ। तर धनुषामा कमला नदी सुक्दा किसानहरू ठूलो समस्यामा परेका छन्।ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशतले कमी आउने अनुमान छ। यसैबीच, सुक्खा र खडेरी प्रभावित किसानलाई सहयोगका लागि प्रदेश सरकारले भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम ल्याएपछि २२ हजार ५२ किसानले आवेदन दिएका छन्।मधेश प्रदेश सरकारले राहतका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि रकम पर्याप्त नभएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन्। सिँचाइ व्यवस्थापनका लागि प्रदेश सरकार अहिले सङ्घीय सरकारको निर्णयको प्रतीक्षामा रहेको छ।