अखिलेश कुमार यादव ।२६ साउन । कलैया । बारा जिल्लाको १६ वटै स्थानीय तहमध्ये लगातार विवादमा रहने सिमरौनगढ नगरपालिका फेरि एकपटक चर्चामा आएको छ। केही समय शान्त जस्तो देखिएको नगरपालिकाको आन्तरिक मतभेद फेरि चुलिएको छ ।नगर उपप्रमुख नजमु शेहरले नगरप्रमुख किशोरी प्रसाद कलवारमाथि उनलाई बाइपास गर्दै एकलौटी रूपमा नगरपालिका सञ्चालन गरेको आरोप लगाएकी छन्। आइतबार संस्कार खबरसँग कुरा गर्दै उनले भनिन्, “नगरप्रमुख कलवारले पटक–पटक निर्णयमा मलाई समेटेनन्, अधिकारबाट वञ्चित गरे, हेटौँडामा गैर–नगरसभा सम्पन्न गरे ।
”उनका अनुसार, नगरप्रमुखले पालिकाबाट आफ्नै पेट्रोल पम्पमार्फत जनप्रतिनिधिलाई इन्धन आपूर्ति नगरी बरु एकलौटी रूपमा १० लाख रुपैयाँको भुक्तानी गराएका छन्। त्यसमाथि, गढीमाई मेलाको लागि १७ लाख रुपैयाँ भुक्तानी भइसकेको भए पनि अझै १५ लाख भुक्तानी लिन बाँकी रहेको भन्दै अतिरिक्त रकम माग गरेको आरोप पनि उनले लगाएकी छन्। शेहरले प्रमुख प्रशासकीय अधिकृतलाई समेत धम्की दिई हेटौँडा लगेर नगरसभा सम्पन्न गरेको दाबी गरिन्। उनले थप भनिन्, “नगरप्रमुखले योजनाहरू छुट्याउँदा आफ्नो मनोपोली देखाउँछन्, व्यक्तिगत लाभमा बढी ध्यान दिन्छन्, जसका कारण विकास कार्य अवरुद्ध भइरहेको छ।”
२०७९ सालको स्थानीय चुनावमा जनताले विकास र सुशासनको अपेक्षा गर्दै नगरप्रमुख र उपप्रमुखलाई मत दिएका थिए। तर, लगातारको आरोप–प्रत्यारोप, अधिकार कटौती र आपसी अविश्वासका कारण नगरपालिकाको कामकाज प्रभावित भएको छ। सिमरौनगढ नगरपालिका ऐतिहासिक महत्त्व बोकेको नगर हो। तर, नगरप्रमुख किशोरी प्रसाद कलवार निर्वाचित भएदेखि नै यस पालिका विवादको केन्द्रमा रहँदै आएको छ। जनताका अमूल्य मतबाट निर्वाचित जनप्रतिनिधिहरू जनताको भावना विपरीत आपसी खिचातानीमा अल्झिँदा नागरिक निराश र आक्रोशित भएको देखिन्छ।