चाइल्ड रेस्क्यु नेपाल र साथी नेपालको सहयोगमा टाँगियाबस्तीस्थित विद्यालयमा भवन हस्तान्तरण

पछिल्लाे समाचार

१७ भदौ ।कलैया : बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीस्थित शान्ति आधारभूत विद्यालयलाई सुरक्षित विद्यालय परियोजनाअन्तर्गत निर्मित ६ कोठे पक्की भवन मंगलबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको छ। भवन निर्माण चाइल्ड रेस्क्यु नेपालको पहल र साथी नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको हो।समारोहमा प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ, चाइल्ड रेस्क्यु नेपालका कन्ट्री डाइरेक्टर भास्कर कार्की र साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले भवनले टाँगियाबस्तीका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सहयोगी निकायलाई धन्यवाद ज्ञापन गरे। उनले समुदायमै आधारित शिक्षा विकासलाई बलियो बनाउन आग्रह पनि गरे। नगर उपप्रमुख भोला अधिकारीले यो पहललाई विकट क्षेत्रमा बसोबास गर्ने समुदायका लागि ‘सामाजिक न्यायको आधार’ को रुपमा व्याख्या गरे। वडा नं १६ का अध्यक्ष हरिदेव खरेलले आफ्नो वडाका कमजोर अवस्थाका विद्यालयमा यस्तो सहयोग प्राप्त हुनु गर्वको विषय भएको बताए। त्यस्तै वडा नं १४ की अध्यक्ष चयन गुरुङले भवनले गुणस्तरीय शिक्षाको आधार तयार गर्न योगदान दिने धारणा राखिन्।

कार्यपालिका सदस्य पवित्र माया कार्कीले शैक्षिक विकासमा महिला नेतृत्व र समुदायको भूमिकाको अपरिहार्यतामा जोड दिइन्। विद्यालयका प्रधानाध्यापक शुक्रराम घिसिङले भवन निर्माण प्रक्रियाबारे जानकारी दिँदै सबै सहयोगी संस्थाप्रति आभार प्रकट गरे। कार्यक्रममा प्रगतिशील शिक्षक महासंघ, स्थानीय जनप्रतिनिधि, अभिभावक तथा युवा नेताहरूले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा साथी नेपालकी अध्यक्ष सापकोटाले शिक्षा विकासलाई सबैको साझा उत्तरदायित्व बताउँदै आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गर्दै अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइन्। विद्यालय परिवार, बस्तीवासी र स्थानीय जनप्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम रमेश सापकोटाले सञ्चालन गरेका थिए।

a

spot_imgspot_img
spot_img

लोकप्रिय