१७ भदौं, कलैया : बारामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाश पौडेलले जिल्ला प्रशासन कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण पश्चात उहाँले पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा प्रदेशका जिल्लामा सजिलो सेवा प्रवाह, प्रभावकारी प्रशासनिक समन्वय र शान्ति–सुरक्षाको सुनिश्चितता आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। उहाँले आफूलाई सरकारको प्रमुख प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै जिल्ला स्तरका सबै निकायहरूसँग सहकार्य गरी जनतालाई राज्यको सेवा सहज रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा पत्रकारहरूले प्रजिअ पौडेललाई जिल्लाका मुख्य समस्याहरू र सुधारका क्षेत्रबारे जानकारी गराएका थिए। पत्रकारहरूले सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती, बिचौलियाको सक्रियता, कर्मचारीको समयमा उपस्थिति नहुने प्रवृत्ति, सडक सुरक्षा, यातायात र पार्किङ व्यवस्थापन, हुलाकी सडकमा सीसीटिभी जडान, चोरी–तस्करी नियन्त्रण, बजार अनुगमन, र शिक्षा तथा स्वास्थ्य क्षेत्रको अनुगमनमा ध्यान दिन सुझाव दिएका थिए। त्यसैगरी, सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालयभित्र टोकन प्रणाली, पार्किङ र शौचालयको उचित व्यवस्थापन गर्नुपर्ने विषयमा पनि सुझाव दिइएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीले प्रजिअ पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले प्रजिअले गर्ने कामको मूल्याङ्कन जनताले गर्ने बताउँदै सबै नागरिकले समान व्यवहार र पहुँच पाउनुपर्नेमा जोड दिनुभयो।प्रजिअ पौडेलले तत्कालै कुनै योजना घोषणा गर्नु भन्दा पहिले जिल्लाका अवस्थाबारे बुझ्ने र आफ्नो अधिकार क्षेत्रभित्रका कामहरू व्यवस्थित रूपमा अघि बढाउने बताउनुभयो।