१७ भदौं,कलैया : छिमेकी जिल्ला पर्साको बिरगंजमा हैजा रोगको जोखिम बढिरहेको सन्दर्भमा बाराको कलैयामा ज्ञान दीप बोर्डिङ स्कुलले मंगलबार जनचेतनामूलक रैली सम्पन्न गरेको छ । विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागितामा गरिएको रैलीमा “स्वच्छ पानी पिउनुहोस्, सफा वातावरण बनाउन सहयोग पुर्याऔं, हैजाबाट जोगिऔं” जस्ता नारा अंकित प्लेकार्ड प्रदर्शन गरिएको थियो । रैली विद्यालय प्रांगणबाट सुरु भई नगरका विभिन्न मार्ग परिक्रमा गर्दै पुनः विद्यालयमै समापन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपलले विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन सकिने विश्वास व्यक्त गर्दै नियमित सरसफाइ, उमालेर वा फिल्टर गरेर मात्र पानी पिउनुपर्ने, खुला ढल, फोहरमैला व्यवस्थापन र खानेकुराको स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
रैलीमा सहभागिता जनाएका विद्यार्थीहरूले स्थानीय बासिन्दाहरूसँग हैजाबारे जानकारी आदानप्रदान गरेका थिए । उनीहरूले घरआँगन सफा राख्ने, ढल नछोड्ने, ढक्नी लगाएर पानी भण्डारण गर्ने लगायतका व्यवहारिक उपायहरू पालना गर्न आग्रह गरेका थिए । स्थानीयवासीहरूले यस किसिमका कार्यक्रमले नगरमा स्वच्छता र स्वास्थ्यप्रतिको चासो बढाउने मात्र नभई बालबालिकामार्फत समुदायमा सकारात्मक सन्देश फैलिने विश्वास व्यक्त गरेका छन् । साथै, नगरपालिकाले पनि यस्ता जनचेतनामूलक गतिविधिलाई निरन्तरता दिन विद्यालय र संघसंस्थाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।