१७ भदौं, कलैया : बाराको कलैया उपमहानगरपालिकाको बसतपुरमा सोमबार डिप बोरिङ्गको शिलान्यास गरिएको छ। पूर्व कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला कुमारी साहले कार्यक्रमको बीच शिलान्यास गर्नुभयो।पूर्व मन्त्री साहले बताएअनुसार, यस डिप बोरिङ्गको निर्माण किसानको सिँचाइ आवश्यकतालाई मध्यनजर गर्दै गरिएको हो। नहरबाट समयमा पानी नपुग्दा खेतबारीमा लगाइने बालिनामा समस्या आउँथ्यो। अब डिप बोरिङ्गले वर्षभरि पानी उपलब्ध गराउने भएकाले किसानले व्यावसायिक नगदे बाली र तरकारी खेतीमा तयारी गर्न सक्नेछन्।
७२ लाखको लागतमा निर्माण हुन लागेको यस बोरिङ्गबाट बसतपुरका ६० बिगाहा जग्गाका किसान प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। वडा न. २० का अध्यक्ष मोहमद आलम पवारियाले भने, “पहिले सिँचाइका लागि इनार र आकासे पानीमा भर पर्नुपर्ने भएपछि उत्पादन प्रभावित हुन्थ्यो, तर अब खेतमै सिँचाइ पुग्ने भएपछि किसानहरू खुशी छन्।”स्थानीय समाजसेवी मोहमद समीले डिप बोरिङ्ग सञ्चालन भए लगत्तै कृषि उत्पादनमा २० प्रतिशतसम्म वृद्धि हुने विश्वास व्यक्त गरे। यससँगै किसानहरूको सहकार्य बलियो हुने र सामूहिक रूपमा सुविधा प्राप्त हुने आशा गरिएको छ।
शिलान्यास कार्यक्रममा वडा सदस्य केदार साह तेली, मुनिलाल साह, समाजसेवी मोहमद समी, खुर्शेद मियाँ, दिल महमद अन्सारी, जमिल अख्तर अन्सारी, शोभाराती मियाँ लगायतको उपस्थिती रहेको थियो। डिप बोरिङ्ग सञ्चालनमा आएसँगै किसानहरूले सिँचाइ अभावको समस्या कम हुँदै उत्पादनमा वृद्धि र स्थानीय कृषि क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्न सक्ने विश्वास गरिएको छ।