१९ भदौ ,सिमरा । नेपोभिट जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। सिमरा भेट्रान क्लबले बिहीबार सिमरा रंगशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। भदौ २१ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्नेछन्। मुख्य सहयोगी संस्थाको रुपमा उपमहानगरपालिकाको कार्यालय रहेको आयोजक क्लबले जनाएको छ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ। जसमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लब सामेल हुनेछन्। प्रतियोगिता रात्री समयमा सिमरा रंगशालामा सञ्चालन हुनेछ।
प्रतियोगिताको विजेता टोलीलाई नगद पाँच लाख रुपैयाँ, उपविजेतालाई दुई लाख ५० हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ र उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड तथा प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।सचिव हरि चौधरीका अनुसार, उद्घाटन दिन प्रवेश निःशुल्क रहनेछ भने बाँकी खेलमा टिकट दर १०० रुपैयाँ तोकिएको छ। त्यस्तै सेमिफाइनल र फाइनल खेलमा दर्शकले २०० रुपैयाँ टिकटमा प्रवेश पाउनेछन्। टिकट बिक्रीबाट आएको रकम वृद्धाश्रमसहितका सामाजिक कार्यमा खर्च गरिने क्लबले जनाएको छ।
क्लब अध्यक्ष राजकपुर राउतले चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको क्लबले यसपटक महिला फुटबलको विकास र प्रवर्द्धनका लागि पहिलोपटक महिला प्रतियोगिता सुरु गरेको बताए। उनले प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाउँदै यस वर्षको अनुमानित लागत करिब ५२ लाख रुपैयाँ रहेको जानकारी दिए।