वीरगञ्ज भन्सार दुई दिन ठप्प, अर्बौं राजस्वमा नोक्सान

पछिल्लाे समाचार

२७ भदौं, काठमाडौं । जेनजी समूहको प्रदर्शन र आन्दोलनका कारण देशकै सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बौं राजस्व नोक्सान भएको छ।दैनिक औसतमा करिब रु ७२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको गत मङ्गलबार र बुधबार राजस्व सङ्कलन लगभग शून्य बराबर रह्यो। तर, बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य सामानको भन्सार जाँचपास प्रक्रिया सुरु भएको छ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार आन्दोलनका कारण कार्यालयमा मानवीय वा भौतिक क्षति नभए पनि जाँचपासको काम अवरुद्ध भएको थियो। उनले भने, बिहीबार मात्रै करिब रु १० करोड राजस्व सङ्कलन भएको छ। शुक्रबारदेखि भने अत्यावश्यक वस्तुसँगै बारा र पर्सामा जाने औद्योगिक सामानहरूको पनि भन्सार प्रक्रिया अघि बढाइने जानकारी प्रमुख प्रशासक ज्ञवालीले दिए। उनका अनुसार सुक्खा बन्दरगाह र एकीकृत भन्सार चौकीमा रहेका मालवाहक सामग्री सुरक्षित राखिएको छ र स्थानीय प्रशासनले सुरक्षा प्रत्याभूति गरेसँगै सबै किसिमका सामान पठाउन तयार रहेको बताए।

गत आव २०८१/८२ मा वीरगञ्ज भन्सार कार्यालयले रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकोमा रु एक खर्ब ७५ अर्ब ९३ करोड मात्रै सङ्कलन गर्न सफल भएको थियो। अघिल्लो आव २०८०/८१ मा भने रु दुई खर्ब ४५ अर्ब ८८ लाख लक्ष्य पाएकोमा करिब रु एक खर्ब ५७ अर्ब ४० करोड मात्र सङ्कलन भएको थियो।यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आव २०८१/८२ मा रु ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु ४९ अर्ब ८२ करोड मात्र उठाउन सकेको छ। अघिल्लो आवमा पनि लक्ष्य भन्दा निकै कम राजस्व सङ्कलन भएको थियो। चालु आवको साउन १ गतेदेखि वीरगञ्ज भन्सार र सुक्खा बन्दरगाह भन्सार गाभिएर सेवा प्रवाह भइरहेको छ। साउन महिनामा गाभिएका दुवै कार्यालयले रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन गरेका छन्, जुन लक्ष्यको ८७.६८ प्रतिशत हो।गत वर्षको साउनमा भने वीरगञ्ज भन्सारले रु १५ अर्ब ९२ करोड मात्रै राजस्व सङ्कलन गरेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय