२८ भदौ ,सिमरा – भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनीका कारण कार्यालयहरू अवरुद्ध भएपनि, जीतपुरसिमरा उपमहानगरपालिकाले अब सेवा सञ्चालनमा फर्काउने निर्णय गरेको छ। उपसचिव शिवजी प्रसादद्वारा जारी सूचनाअनुसार, भदौ २९ गतेदेखि राष्ट्रिय परिचयपत्रबाहेकका सम्पूर्ण सेवा, मातहतका वडा कार्यालय र विद्यालयहरू सञ्चालनमा आउनेछन्।
तर आगजनीबाट क्षतिग्रस्त वडा नं. ११, १२, १३, १४, १५ र १६ का वडा कार्यालयमा भने तत्काल सेवा सुरु नहुने छ। सम्बन्धित वडा समितिले निर्णय गरेर अर्को सूचना जारी गरेपछि मात्र सेवा सुचारु हुने सूचनामा उल्लेख गरिएको छ। नगरप्रमुख राजन पौडेलले शनिबार बिहान सामुदायिक र संस्थागत विद्यालयका सञ्चालकहरूसँगको छलफलपछि पठनपाठन पुनः सुरु गर्ने निर्णय भएको जानकारी दिए। उनले जानकारी दिए अनुसार, उपमहानगरभित्रका २४ वटा वडा कार्यालयमध्ये ६ वटामा आगजनी र तोडफोडबाट पूर्ण क्षति पुगेको थियो।
नगरप्रमुख पौडेलले भने, “तोडफोड भएका वडा कार्यालयहरूबाट सेवा कसरी सुचारु गर्ने भन्ने विषयमा वडाध्यक्ष र वडा सचिवहरूले नै निर्णय गर्नुहुन्छ।” स्थानीय प्रशासनका अनुसार, यी निर्णयले लामो समयदेखि प्रभावित सेवाग्राही र विद्यार्थीहरूलाई सहज हुने अपेक्षा गरिएको छ।


