कार्तिक २३ सिमरा : सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवनाले आफ्नो १४औँ वार्षिक साधारण सभा धुमधामपूर्वक सम्पन्न गरेको छ। शनिबार रजघट्टास्थित जनता माध्यमिक कृषि प्राविधिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शोभा केसीको अध्यक्षता रहेको थियो।

साधारण सभामा बारा जिल्ला सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा संस्थागत प्रतिवेदन अध्यक्ष सुधा केसी, लेखा प्रतिवेदन लेखा संयोजक लव थपलिया तथा आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक गुनराज ढकालले प्रस्तुत गरेका थिए।

सभामा १८९८ शेयर सदस्यमध्ये उत्कृष्ट कारोबार कर्ता जलेश्वर चौधरी तथा ७८ वर्षीय ज्येष्ठ नागरिक दिनानाथ दुलाललाई सम्मान गरिएको थियो। साथै समाजसेवा पुरस्कार सर्परक्षक दिपक नेपाललाई ५ हजार ५ रुपैयाँ नगदसहित प्रदान गरिएको संस्थाले जनाएको छ। वडाध्यक्ष रामप्रसाद लामिछानेले सहकारीले समयमा सरल तरिकाले ऋण उपलब्ध गराउँदै स्थानीयलाई भरपर्दो सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी बन्न सुझाव दिए। सोही क्रममा उपमहानगरपालिका–१४ का वडाध्यक्ष चयन गुरुङले घरेलु तथा कृषि उपकरण किन्न सहजै ऋण दिनु सहकारीको सकारात्मक पक्ष भएको बताए। उनले ऋण लिने सदस्यलाई समयमा किस्ता बुझाउन आग्रह समेत गरे।

संस्थापक अध्यक्ष राजु अधिकारीले ३३ जना मिलेर सुरु गरिएको सहकारी आज १८९८ सदस्यमा पुगेकोमा खुसी व्यक्त गरे। ५ लाख ४३ हजार रुपैयाँ पूँजीबाट सुरु भएको सहकारीको पूँजी हाल १४ करोड आसपास पुगेको उल्लेख गर्दै व्यवस्थापन टोलीलाई धन्यवाद ज्ञापन गरे।

प्रमुख अतिथी ठाकुरले राज्यले तोकेको मापदण्ड र समयसीमा भित्रै साधारण सभा सम्पन्न गरेकोमा संस्थाको सराहना गर्दै सप्तरंगी सहकारी जीतपुरसिमराको उत्कृष्ट सहकारीको रूपमा विकसित भइरहेको टिप्पणी गरे। सहकारीले आफ्ना शेयर सदस्यलाई १२ प्रतिशतसम्म लाभांश वितरण गरेको जानकारी दिँदै उनले यसलाई सदस्यहरूको लागि सकारात्मक उपलब्धि बताएका हुन्।

