मंसिर ०२ काठमाडौं — मंसिर ७ गते देशभर कठोर आन्दोलनसहित राजधानीमा ठूलो शक्ति प्रदर्शन गर्ने चेतावनी दिँदै आएका मेडिकल व्यवसायी तथा राजावादी सोचका अभियन्ता दुर्गा प्रसाईँ सुरक्षा निकायद्वारा पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई भक्तपुरको ठिमीस्थित निवासबाट मंगलबार बिहानै समातिएको हो। पक्राउपछि प्रसाईँलाई काठमाडौं प्रहरी परिसर, भद्रकालीमा लैइएको छ।
प्रसाईँले हालै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेचीदेखि महाकालीसम्म देश ‘ठप्प पार्ने’ दाबीसहित आन्दोलन रोक्ने कुनै योजना नभएको बताएका थिए। उनीविरुद्ध शान्ति–सुरक्षामा बाधा पुग्ने गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अन्तरिम सरकारले प्रसाईँको आन्दोलनका कारण राजधानीमा हिंसा भड्किन सक्ने आकलन गर्दै पहिले नै नियन्त्रणमा लिन आवश्यक ठानेको सरकारी स्रोतले बताएको छ।
प्रसाईँ र उनका समर्थक समूहले मंसिर ७ गते राजधानी केन्द्रित ‘वृहद् नागरिक मुक्ति आन्दोलन’ गर्ने घोषणा गर्दै आएका थिए। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारका नाममा सञ्चालन भइरहेको उक्त अभियानमार्फत सामाजिक सञ्जालमा हजारौँलाई काठमाडौं आइपुग्न आह्वान गरिएको थियो। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध कडा विरोध गर्दै आएका प्रसाईँले डेढ लाखभन्दा बढी मानिस जुटाउने दाबी गरेका थिए। साथै, बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमाथि अत्यधिक भार पारिरहेको भन्दै ऋण मिनाहा जस्ता मागसहित आन्दोलन अगाडि बढाउँदै आएका थिए।
पूर्वराजा ज्ञानेन्द्रसँग झापाबाट अभियान शुरु गरेका प्रसाईँले पछिल्ला वर्षहरूमा राजनीतिक नेतृत्व र व्यापारिक घरानामाथि तीव्र आलोचना गर्दै आएका छन्। हाल भने उनले सरकारलाई ‘विदेशी शक्तिको एजेन्डा पूरा गर्ने’ भन्दै कठोर टिप्पणी गरेका थिए, जसपछि उनका अभिव्यक्तिले थप विवाद सिर्जना गरेको थियो।प्रसाईँको गिरफ्तारीसँगै मंसिर ७ गतेको संभावित प्रदर्शनबारे सुरक्षा एजेन्सीहरू सतर्क बनेका छन्।

