सीमा सुरक्षासम्बन्धी अन्तरक्रियामा स्थानीय तहका प्रमुखहरूको गुनासो र सुझाव, सशस्त्र प्रहरीद्वारा रणनीति प्रस्तुत

पछिल्लाे समाचार

मंसिर ०३ कलैया ः बारामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टरको आयोजनामा ‘सिमावासीसँग सशस्त्र प्रहरी’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सिमाना सुरक्षा, चोरी तस्करी नियन्त्रण, अपराध रोकथाम, जनचेतना अभिवृद्धि तथा नेपाल भारत सीमामा देखिएका चुनौतीबारे विस्तृत प्रस्तुति तथा छलफल भएको थियो। १२ नं. गण हेडक्वार्टरका गणपति, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले स्वागत एवं प्रस्तुतीकरण गर्दै १९ वटा युनिटमार्फत करिब ६० प्रतिशत जनशक्ति ६० किलोमिटर लम्बाइको सिमानामा तैनाथ गरिएको जानकारी दिए। सीमा क्षेत्रका ९० स्थानमा रहेका साना ठूला नाकाहरूबाट विभिन्न गतिविधि हुने भएकाले नियमित अनुगमन गर्दै आएको उनले बताए।

केसीका अनुसार सिमावासीसँग सुमधुर सम्बन्ध बनाउँदै अपराध नियन्त्रण, अवैध आयात निर्यात रोकथाम र चोरी तस्करी नियन्त्रणमा नागरिकको सहकार्य महत्वपूर्ण रहने भएकाले यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ। बाराको सीमावर्ती क्षेत्रमा अझै ६ स्थानमा बीओपी स्थापना गर्ने प्रक्रियामा रहेको जानकारी उनले दिए। अन्तरक्रियामा सहभागी स्थानीय जनप्रतिनिधिहरुले गुलरिया नाका मार्फत सवारी आवागमन पुनः सुचारु गर्न, किसानले सीमाबाट ल्याउने मल तथा खाद्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न, भारतीय एसएसबीले लगातार गाड्दै आएका सीमास्तम्भका कारण भएको भूमि अतिक्रमण फिर्ता गराउन, बन्द गरिएको छोटी भन्सार पुनः सञ्चालन गर्न तथा पटक–पटक उठाइएका मागमा सुनुवाइ नभएको गुनासो सुनाए। पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंहले सीमावर्ती क्षेत्रमा अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी र स्थानीय तहको सहकार्य अनिवार्य रहेको बताए।

“सिमावासीले भोग्दै आएका समस्यामा सरकारी निकायको प्रभावकारी समन्वय आवश्यक छ। सिमाना सुरक्षामा नागरिकको सुझावलाई प्राथमिकतासाथ कार्यान्वयन गर्नुपर्छ,” नगरप्रमुख सिंहले भने। सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले हालैको जेनजी आन्दोलनले देशलाई ठूलो क्षति पु¥याएको उल्लेख गर्दै यसको मनन राजनीतिक नेतृत्वदेखि नागरिक समाज सबैले गर्नुपर्ने बताए। उहाँले “हाम्रो देश सानो भए पनि कसैले हेप्न पाउँदैन; सिमाको रक्षा सबै नेपालीको साझा दायित्व हो,” भन्दै समस्याको समाधानमा सुरक्षा निकाय मात्र होइन, सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।


सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गणको आयोजनामा भएको कार्यक्रमले सिमा सुरक्षाप्रति जागरूकता वृद्धि गर्न, नागरिक–प्रहरी सहकार्य मजबुत बनाउन र अवैध गतिविधिमाथि निगरानी कडा बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ।कार्यक्रममा सिमरौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी साह, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकार अली भुट्टो लगायत सीमासँग जोडिएका विभिन्न वडाका वडाध्यक्षहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय