मंसिर ०३ कलैया ः सशस्त्र प्रहरी बल १२ नं. गण हेडक्वार्टर बारामा निर्मित सिनियर अधिकृत ब्यारेक र सिनियर अधिकृत भान्सा भवनको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नं. २ छिनमस्ता बाहिनीका बाहिनिपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले भवनको रिबन काटेर उद्घाटन गर्नुभयो। उद्घाटनपछि बोल्दै ढकालले नयाँ संरचनाले संगठनका अधिकृतहरूलाई बसोबास र दैनिक जीवनमा आएको कठिनाइ अन्त्य गरिदिने बताउनुभयो।

उहाँले भन्नुभयो, “लामो समयदेखि सिनियर अधिकृतहरू भान्सा र ब्यारेकको अभावमा असुविधामा थिए। आधुनिक सुविधा–सम्पन्न भवन सञ्चालनमा आएपछि उनीहरूको दैनन्दिन कार्य, स्वास्थ्य, स्वच्छता र मनोबलमा प्रत्यक्ष प्रभाव पर्नेछ। यसले संगठनको समग्र कार्यक्षमतामा पनि सकारात्मक भूमिका खेल्नेछ।” सशस्त्र प्रहरी बल १२ नं. गणका प्रहरी उपरीक्षक खुमबहादुर केसीले पनि नयाँ भवनले अधिकृतहरूले वर्षौंदेखि भोग्दै आएको समस्या अन्त्य हुने बताए।

उनका अनुसार,“सिनियर अधिकृतहरूको मागअनुसार भान्सा घर र ब्यारेक भवन निर्माण गरी आज औपचारिक रूपमा उद्घाटन गरिएको हो। अब उनीहरूले व्यवस्थित तरिकाले बसोबास र कार्यालयीन दैनिकी सञ्चालन गर्न सक्नेछन्।”केसीले सुविधा सम्पन्न भवन उपलब्ध भएपछि अधिकृतहरूको जीवनस्तर, कार्यगत तयारी र मानसिक सन्तुलनमा सुधार आउने विश्वास व्यक्त गरे।स्थानीय तहका प्रतिनिधि, सुरक्षासम्बन्धी अधिकारी, विभिन्न इकाइका प्रहरी तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रम सरकारले सुरक्षा निकायका लागि आवश्यक पूर्वाधार निर्माणलाई दिएको प्राथमिकताको उदाहरण रहेको सिनियर अधिकृतहरुले बताए ।

