मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त, पदअनुकूल आचरण नगरेको प्रस्ताव दुई–तिहाइले पारित

पछिल्लाे समाचार

मंसिर ०३ जनकपुर : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभाले दुई–तिहाइ बहुमतले पारित गरेको छ। बुधबार प्रस्तुत प्रस्तावको पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गर्दा विपक्षमा एकजनाले पनि मत नदिएपछि सभामुख मण्डल तत्काल प्रभावबाट पदमुक्त भएका छन्। मण्डलविरुद्ध गत कात्तिक २७ गते सात दलका ६४ सांसदले प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्ता भएपछि लामो समयसम्म बैठक आह्वान नहुँदा राजनीतिक रुपमा तनाव सिर्जना भएको थियो।

यसै क्रममा मंगलबार ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई बैठक बोलाउन मागसहित पत्र बुझाएपछि उनले आज दिउँसो १ बजेका लागि बैठक तोकेकी थिइन्। तर निर्धारित समयमा बैठक सञ्चालनमै अवरोध देखियो। प्रदेशसभा सचिव अनुपस्थित रहेकाले प्रक्रिया अघि बढ्न सकेन। त्यसकै बीच सदनभित्र विद्युत आपूर्ति समेत अवरुद्ध भएपछि बैठक सुरु हुने अवस्था नदेखिएपछि उपसभामुखले बैठक स्थगित गर्दै ३ बजेर १० मिनेटमा पुनः बस्नेगरी पुनः सूचना जारी गरिन्। पछि सचिव बासुप्रसाद कोइराला सदनमा उपस्थित भएपछि कार्यवाही अगाडि बढ्यो। तर नेकपा एमालेकी सांसद शारदा देवी थापाले सरकार पक्षबाट कोही उपस्थित नदेखिएको भन्दै नियमापत्ति जनाएपछि बैठक फेरि १० मिनेटका लागि रोकिन बाध्य भयो।


दोस्रोपटक बसेको बैठकमा प्रस्ताव पेश गरिएपछि विभिन्न सांसदले समर्थनमा धारणा राखे। सभामुख मण्डललाई आफ्नो स्पष्टीकरण दिन समय दिइए पनि उनी अनुपस्थित रहेपछि प्रस्तावलाई मतदानमा ल्याइएको हो। मधेस प्रदेशमा हाल देखिएको राजनीतिक अस्थिरताका जरा केही साताअघि नै रोपिएका थिए। नेपालको संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि विवाद चुलिएको थियो। संघ सरकारले भण्डारीलाई पदमुक्त गरिसकेको छ भने बुधबार सभामुखविरुद्धको प्रस्ताव पनि पारित भएसँगै प्रदेशको शक्ति–सन्तुलन फेरि एकपटक बदलिएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय