सिमरा क्षेत्रमा फेरि तनाव, स्थानीय प्रशासनद्वारा दिउँसो १ देखि साँझ ८ बजेसम्म कर्फ्यु

पछिल्लाे समाचार

मङ्सिर ०४ सिमरा : बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरा क्षेत्रमा बिहीबार फेरि वातावरण तनाबपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जारी गरेको सूचनामा जनधनको सुरक्षाका लागि तथा स्थिति थप नियन्त्रण बाहिर नजाओस् भन्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) अनुसार कर्फ्यु लागु गरिएको उल्लेख छ। कर्फ्यु क्षेत्र पथलैया चोकदेखि दक्षिण जीतपुर लल्का पुलसम्मको वीरगञ्ज–पथलैया राजमार्ग दायाँ–बायाँ ५०० मिटर, त्यसैगरी सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र समेटिएको छ। कर्फ्यु अवधिमा आवतजावत, भेला, जुलुस तथा कोणसभाजस्ता गतिविधि पूर्ण प्रतिबन्धित गरिएको प्रशासनले जनाएको छ।

बुधबार परवानीपुरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आएका नेकपा (एमाले) महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई स्वागत तथा विरोध गर्न विमानस्थल बाहिर दुई समूह भिडेपछि स्थिति तनावग्रस्त बनेको थियो। सो क्रममा जेन–जी युवा समूहका ‘सम्राट’ उपनामले परिचित साइकुल उपाध्यायसहित केही युवा घाइते भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यही दिन प्रशासनले पहिलो चरणको कर्फ्यु दिउँसो १२:३० देखि साँझ ८ बजेसम्म लागू गरेको थियो। बिहीबार बिहान कर्फ्यु हटेपछि जेन–जी युवाहरूले न्यायको माग राख्दै सिमरा बजार पूर्ण रूपमा बन्द गराएका छन्। उनीहरूले सिमरा–पथलैया सडकखण्डको विभिन्न स्थानमा टायर बालेर यातायात समेत अवरुद्ध पारेका छन्।

घाइते युवाहरूले इलाका प्रहरी कार्यालय सिमरामा तारा बस्नेत, अरविन्द साह, सुनिल कुमार गुप्ता, ईश्वर थपलिया, आरिफ खान, क्यामुदीन अन्सारी, गोविन्द लामा, आशिष् श्रेष्ठलगायतका विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। जाहेरीका आधारमा प्रहरीले वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का वडाध्यक्ष क्यामुद्दिन अन्सारीलाई पक्राउ गरेको छ। दुवै जना नेकपा (एमाले) का जनप्रतिनिधि हुन्। जेन–जी र प्रहरीले भिडन्त भएको क्रममा नियन्त्रणको प्रयासमा गरिएको लाठीचार्जबाट ५ जना युवाहरूको टाउकोमा चोट लागेको प्रहरीले पुष्टि गरेको छ।

उनीहरूको सिमरा र वीरगन्जमा उपचार भइरहेको छ। तनाव बढेसँगै सिमरा बजारका सबै पसल बन्द छन्। लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसक्दा यात्रुहरू मारमा परेका छन्। बिहानैदेखि विमानस्थल नियमित सञ्चालनमा आए पनि नयाँ आन्दोलनका कारण यात्रुहरू अन्योलमा परेका छन्।प्रशासनले सबै पक्षलाई संयम अपनाउन र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङका अनुसार “घटनामा जो–कोही संलग्न देखिए पनि कानुनी कारबाही हुनेछ”।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय