मंसिर १५ कलैया : बाराको पचरौता नगरपालिका–७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेनौलिमा दुई तले आधुनिक विद्यालय भवनको शिलान्याश गरिएको छ। सोमबार आयोजित विशेष समारोहका बीच पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले भवन निर्माणको शिलान्यास गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंहले नगरपालिकाले शिक्षा क्षेत्रलाई सबैभन्दा महत्वपूर्ण क्षेत्रका रूपमा लिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो “विद्यालयमा कक्षा कोठाको अभावका कारण अध्यापन प्रक्रिया प्रभावित भएको छ। अब निर्माण हुने यो दुई तले भवनले शिक्षण–अधिगमलाई सहज र प्रभावकारी बनाउनेछ। नगरपालिकाले आवश्यक अन्य भौतिक पूर्वाधार विकासमा पनि निरन्तर सहयोग गर्दै जानेछ।” सिंहले विद्यार्थीलाई सुरक्षित, प्राविधिक र सहज वातावरणमा अध्ययन गराउन आवश्यक पर्ने छुट्टाछुट्टै कक्षा कोठा अनिवार्य भएको र भवन अभावकै कारण विद्यालयले अपेक्षित शैक्षिक गुणस्तर हासिल गर्न चुनौती खेलेको पनि बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद ओलीले भवन अभावले पठन–पाठनमा ठूलो असर परेको बताउँदै नयाँ भवन निर्माण विद्यालयका लागि महत्वपूर्ण उपलब्धि हुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “वर्षौंदेखि एउटै कक्षामा धेरै विद्यार्थी राखेर पढाउनुपरेको थियो। मापदण्डअनुसार कक्षा कोठा नहुँदा विद्यार्थीहरूको सिकाइमा अवरोध भइरहेको थियो। नयाँ भवन निर्माण भएपछि कक्षाकोठाको अभाव पूर्णरूपमा हट्नेछ र शैक्षिक वातावरण गुणस्तरीय बन्नेछ।”

पचरौता नगरपालिकाले ७ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागेको उक्त दुई तले भवन विद्यालयलाई आवश्यक कक्षाकोठा उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको शिक्षा सह–संयोजक मुकेश सिंहले जानकारी दिनुभयो। सिंहका अनुसार भवन आधुनिक संरचनामा निर्माण गरिनेछ र समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिलान्याश कार्यक्रममा पचरौता नगरपालिकाका प्रवक्ता लक्ष्मी यादव, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय समुदायले नयाँ भवनले विद्यालय र विद्यार्थीको भविष्य उज्यालो हुने अपेक्षा व्यक्त गरेका थिए ।


