मंसिर १४ सिमरा : बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित इच्छा होटल अगाडि आज बिहान करिब १०:३० बजे ट्याक्टर, मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सिमरा बाट जितपुरतर्फ जाँदै गरेको ना ३ त १०९८ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ गइरहेको मधेश प्रदेश ०३–०३२ प ९५९० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित बनेको मोटरसाइकलले अगाडि गइरहेको साइकललाई पुनः ठक्कर दिँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये मोटरसाइकल चालक, जितपुर सिमरा उ.म.न.पा.–७ का विजय गुप्ताकी २० वर्षीय छोरी जोति कुमारी गुप्ता गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज पुर्याइएकी जोतिलाई चिकित्सकले बिहान ११:४२ बजे मृत घोषणा गरेका छन्। मृतकको शव अस्पतालमै राखिएको प्रहरीको भनाइ छ। मोटरसाइकलकी पछाडी सवार ए.ए. बस्ने जगत प्रसाद साहकी १९ वर्षीय छोरी आस्था गुप्ता मध्यम चोटसहित उपचाररत छिन्।
त्यसैगरी साइकल चालक, जितपुर सिमरा उ.म.न.पा.–२ का ४२ वर्षीय कृष्ण मगरको टाउको, कान र दुवै खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घटनास्थल पुगेको इलाका प्रहरी चौकी रामवनको टोलीले ट्याक्टर, मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएको छ। ठक्कर दिने ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

