तेश्रो एकता अन्तरविद्यालय छात्रा भलिबल प्रतियोगिता सुरु

पछिल्लाे समाचार

मंसिर १६, सिमरा । तेश्रो एकता अन्तरविद्यालय छात्रा भलिबल च्याम्पियनसिप प्रतियोगिता सिमरामा सुरु भएको छ। मंगलबार आयोजित उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले रेफ्रीलाई भलिबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो।एकता स्कुल सिमराका प्रिन्सिपल मदन रिजालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख पौडेल प्रमुख अतिथि रहनुभएको थियो। मंसिर १६ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ। एकता स्कुलका अनुसार प्रतियोगितामा १० वटा निजी विद्यालयको सहभागिता रहेको छ।

कार्यक्रममा बोल्दै सिमरा डुमरवाना स्कुल हबका संयोजक बसन्त ढकालले निजी विद्यालयहरूले समय–समयमा विभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको बताउँदै महिला खेलकुदमा पनि विस्तारै प्रतिभा उत्पादन भइरहेको उल्लेख गरे। उनले स्थानीय तहले भलिबलसमेतका खेललाई अझै प्रोत्साहन गर्नुपर्ने औंल्याए। ढकालका अनुसार जीतपुरसिमरा एन प्याब्सनले बनाएको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार यो शैक्षिक वर्षमा २४ कार्यक्रममध्ये १७ वटा पूरा भइसकेका छन्।

नगरप्रमुख राजन पौडेलले खेलकुद गतिविधि बढाउन उपमहानगरले निरन्तर प्रयास गरिरहेको जानकारी दिँदै राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिताहरू सञ्चालन हुँदै आएको बताए। संस्थागत विद्यालयको उल्लेख्य सहभागिता रहेको प्रतियोगितामा सामुदायिक विद्यालयहरूको सहभागिता पनि आवश्यक रहेको उनले उल्लेख गरे। ग्रासरुट स्तरबाट खेलकुद प्रभावकारी बनाउन सामुदायिक र निजी विद्यालयबीच सहकार्यको वातावरण बनाउन उपमहानगर तयार रहेको बताए।

oplus_0

“पुरुष मात्रै होइन, महिलाले पनि समान रूपमा खेलकुदमा सक्रिय हुनुपर्छ भन्ने सन्देश यो प्रतियोगिताले दिएको छ,” नगरप्रमुख पौडेलले भने। एकता स्कुलका प्रिन्सिपल मदन रिजालले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको खेलकुद प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।“विद्यालय शिक्षासँगै खेलकुदलाई समान महत्व दिनुपर्छ। हामीले आयोजना गर्दै आएका यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास वृद्धि गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा निर्माण गरिरहेका छन्,” रिजालले भने।कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, सिमरा–डुमरवाना हबका संयोजक बसन्त ढकाल, सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अमृत बस्याल विद्यार्थी पुस्तक भणडारका संचालक श्रवण गुप्ता लगायत शिक्षक तथा अभिभावकहरूको उपस्थिति थियो। उद्घाटन खेल एकता स्कुल र अक्षरा पथशालाबीच सम्पन्न भएको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय