मंसिर १६ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगर–३, बजनीस्थित पाथिभरा अङ्ग्रेजी बोर्डिङ स्कुलमा चौथो पाथिभरा अन्तर विद्यालय छात्र भलिबल च्याम्पियनसिप प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। एक औपचारिक कार्यक्रमका बीच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।

कार्यक्रम पाथिभरा अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल लकि रिमालको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख अधिकारी प्रमुख अतिथि रहेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले शैक्षिक वातावरणसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराउनु विद्यालयहरूको महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे। अधिकारीले स्कुल स्तरबाटै खेलाडी उत्पादन गर्न सके राष्ट्रको खेल क्षेत्र बलियो बन्दै जाने बताउँदै विद्यार्थीको रुचिअनुसार विभिन्न खेलमा सहभागी गराउन विद्यालयहरूलाई निर्देशन दिए। “संस्थागत विद्यालयले नगर मात्र होइन, देशकै लागि खेलाडी उत्पादन गर्ने क्षमता राख्छ,” अधिकारीले भने।

त्यसैगरी,सिमरा डुमरवाना स्कुल हबका संयोजक बसन्त ढकालले भलिबल खेल लोप हुँदै गएको समयमा पाथिभरा स्कूलले निरन्तर प्रतियोगिता आयोजना गर्दै भलिबल खेलको स्तर उकास्न महत्वपूर्ण योगदान दिएको टिप्पणी गरे। भलिबललाई २०७५ सालमा सरकारले राष्ट्रिय खेल घोषणा गरेपछि विद्यालयले छात्र र छात्रा दुवैस्तरमा प्रतियोगिता सञ्चालन गर्दै आएको उनले बताए। उनका अनुसार सिमरा–डुमरवाना हबले बाडेको खेलमध्ये यो १८औँ प्रतियोगिता हो।

कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारीले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै विद्यार्थीलाई अनुशासन र खेलभावनामा रहँदै प्रतिस्पर्धा गर्न आग्रह गरे।विद्यालयका प्रिन्सिपल लकि रिमालले भलिबल प्रतियोगिता नियमित आयोजना गर्दै आएको जनाउँदै खेलकुदले विद्यार्थीको व्यक्तित्व, अनुशासन र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य शिक्षक आर.के. यादवले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक दिवक्ष लामिछानेले गरेका थिए। प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरका विभिन्न निजी विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

