मंसिर १६ सिमरा : ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना तथा इम्प्याक्ट नेपाल रुङ्गटा वेलफेयर कान उपचार केन्द्र र किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने नि:शुल्क कान, आँखा, नाक–घाँटी स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीको सभाध्यक्षतामा सुरु भएको शिविरको उद्घाटन नगर प्रमुख राजन पौडेलले ब्यानर पढेर गरेको थियो। शिविर उद्घाटन गर्दै नगर प्रमुख पौडेलले भने, “अपाङ्ग व्यक्तिहरूका लागि स्वास्थ्य सेवा पहुँचयोग्य हुनुपर्छ। यस किसिमका शिविरले उनीहरूलाई समयमै आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर दिन्छ।”

उपप्रमुख अधिकारीले भने, “हामी अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा निरन्तर ध्यान दिँदै आएका छौं। शिविरले उनीहरूको स्वास्थ्य जाँच र उपचार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ।” नेपाल अपाङ्ग संघ बाराका अध्यक्ष गंगा वाग्लेले पनि शिविरको उद्देश्य अपाङ्ग व्यक्तिहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताउँदै यसबाट उनीहरूको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

शिविरमा ११३ जनाले आँखा, १०२ जनाले कान र ११ जनाले एचआरडी संस्था मार्फत चेकअप गराएका थिए। सामाजिक विकास शाखा प्रमुख सीमा यादवलका अनुसार बिभिन्न संघ–संस्थाको समन्वयमा सञ्चालन सम्पन्न भएको यस शिविरबाट जितपुरसिमराभित्रका अपाङ्ग व्यक्तिहरू लाभान्वित भएको छ।शिविरमा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईं नेकपा एमालेको जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक साह ठकुरी लगाएतको उपस्थिति रहेको थियो ।


